रुखहरु ढलेर बिद्युतीय संरचनामा क्षती, मर्मतमा दिनभर लाग्नसक्ने

सल्यान, १० असोज ।

सल्यानमा निरन्तरको वर्षा एवं हुरी बताससँगै विभिन्न ठाउँमा रुख ढल्दा ३३ केभी प्रसारण लाइनमा क्षति पुगेपछि जिल्लाभरको विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल बिद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले मर्मत कार्यमा आज दिनभरको समय लाग्नसक्ने जनाएको छ ।

३३ केभी प्रसारण लाइन अन्तर्गत लुहाम–अरिङ्गालेफेदी (खारखोला) खण्डमा रुखहरु ढलेर प्रसारण लाइनका संरचनामा क्षति पुगेपछि विद्युत आपूर्ति बन्द भएको हो । गएराती कपुरकोट क्षेत्रमा केही मर्मत गरिएको भएपनी अन्य विभिन्न स्थानमा समस्या देखिएको सल्यान वितरण केन्द्रका प्रमुख नरेश रावलले जानकारी दिनुभयो । एकपछी अर्को समस्या फेला परिरहेको भन्दै उहाँले बिद्युतीय संरचना मर्मतमा दिनभर लाग्नसक्ने बताउनुभयो ।

लगातारको वर्षाका कारण माटो गलेको तथा आज विहानैदेखी तिब्र गतिको हावाहुरी समेत चरिरहेकोले थप समस्या सृजना भएको बताइएको छ ।

विद्युत लाइन मर्मतका लागि प्राविधिक टोलीलाई विहानैदेखि परिचालन गरिएको छ । विद्युत प्राधिकरणको मर्मत टोलीले क्षतिग्रस्त प्रसारण लाइनको अवस्था पहिचान गरी मर्मत कार्य अघि बढाइरहेको जनाएको छ ।

विद्युत सेवा अवरुद्ध भएपछि जिल्लाका विभिन्न क्षेत्रमा विद्युतमा निर्भर सेवा तथा दैनिक कामकाज प्रभावित भएका छन् ।

यसैबीच विहिबार बेलुकीदेखि सल्यानमा भएको निरन्तर वर्षाका कारण जिल्लाका विभिन्न सडकखण्डमा पहिरो तथा अन्य अवरोधको जोखिम बढेको छ । वर्षाको अवस्था कायमै रहेमा र तिब्र गतिको हावाहुरी चलिरहेमा सल्यानमा सडक, विद्युत तथा अन्य पूर्वाधार एवं किसानको बालिनालिमा समेत थप क्षति हुनसक्ने जोखिम रहेको छ ।

प्रतिक्रिया दिनुहोस