सल्यानका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना

सल्यान, २४ असोज ।

चाडपर्वमा यात्रु ठगी, बढी भाडा असुली र दुव्र्यवहार रोक्न सल्यानका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यान र जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानको पहलमा श्रीनगर, सल्लीबजार, थारमारे र कपुरकोटमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार शारदा नगरपालिका–१ स्थित श्रीनगर बसपार्क नजिक, बनगाड कुपिण्डे नगरपालिका–१ को सल्लीबजार, बागचौर नगरपालिका–२ को थारमारे र कपुरकोट गाउँपालिका–३ मा सहायता कक्ष स्थापना गरिएको छ ।

चाडपर्वका बेला यात्रुको चाप बढ्ने र यात्राका क्रममा बढी भाडा असुली, ठगी तथा दुव्र्यवहारका घटना हुन सक्ने भएकाले यात्रुलाई सुरक्षित र सहज यात्रा गराउने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

सहायता कक्षमार्फत तोकिएको भाडादरभन्दा बढी भाडा असुली हुन नदिन, यात्राका क्रममा हुने ठगी तथा दुव्र्यवहार रोक्न र यात्रुका गुनासा तथा समस्याको तत्काल सम्बोधन गर्न आवश्यक सहजीकरण गरिनेछ ।

प्रहरीले यात्रुलाई तोकिएको भाडादरअनुसार मात्र भाडा तिर्न, अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न र आफ्ना सामानको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ । यात्राका क्रममा कुनै समस्या, ठगी वा दुव्र्यवहार भएमा नजिकैको यात्रु सहायता कक्ष वा नेपाल प्रहरीको आपत्कालीन नम्बर १०० र ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीले चाडपर्वका बेला यात्रुलाई सुरक्षित यात्रा गर्न र कुनै समस्या परेमा तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस