जिल्ला अस्पतामा एक्स–रे सेवा ठप्प, अन्य उपकरणमा पनि समस्या

शंकर केसी
सल्यान, २८ असोज

जिल्ला अस्पताल सल्यानमा एक्सरे मेसिनमा प्राविधिक समस्या आएपछि सेवा बन्द भएको छ । करिब १०–१२ वर्ष पुरानो मेसिनको सफ्टवेयरमा समस्या आएपछि मर्मतका लागि काठमाडौँ पठाइएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । अस्पतालमा दैनिक ३० देखि ४० जनाले एक्स–रे सेवा लिने गरेका छन् । सेवा पूर्ण रुपमा बन्द हुँदा बिरामीलाई असुविधा भएको छ । सामान्यदेखि जटिल प्रकृतिका स्वास्थ्य समस्या लिएर आउने बिरामीलाई रोग पहिचान तथा उपचार प्रक्रियाका लागि एक्सरे आवश्यक पर्ने भएकाले सेवा बन्द हुँदा उनीहरूलाई थप असुविधा भएको छ ।

यसअघि पनि उक्त मेसिन बिग्रिएर करिब १० दिन सेवा प्रभावित भएको थियो । कार्यालयका व्यवस्थापक डा. अर्जुनकुमार बुढामगरका अनुसार मंगलबार मेसिन मर्मतका लागि काठमाडौँ पठाइएको हो । तीनदेखि चार दिनभित्र मर्मत गरी सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

पुरानो मेसिन पटकपटक बिग्रिने र मर्मतमा खर्च भइरहने समस्या देखिएकाले नयाँ डिजिटल रेडियोग्राफी (डीआर) प्रणाली जडान गर्ने तयारीसमेत गरिएको अस्पतालले जनाएको छ । चालु आर्थिक वर्षमा केही महिनापछि नयाँ प्रणाली जडानका लागि प्रक्रिया अघि बढाउने योजना रहेको डा. बुढाको भनाइ छ ।

अस्पतालमा एक्सरेसँगै अन्य उपकरण र विद्युत् आपूर्तिको समस्याले पनि सेवा प्रवाहमा चुनौती थपिएको छ । अल्ट्रासाउन्ड (यूएसजी) मेसिनमा समस्या आएपछि वैकल्पिक मेसिनबाट काम चलाइएको छ । विद्युत् ट्रान्सफर्मरमा आगलागी भएपछि अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको छैन । प्लान्ट मर्मत तथा सञ्चालनका लागि आवश्यक उपकरण विद्युत् कार्यालयमा उपलब्ध नहुँदा समस्या भएको अस्पतालले जनाएको छ । बजेट अभावका कारण आवश्यक उपकरण खरिद गर्न कठिनाई भएको र यसबारे विद्युत कार्यालयसंग समन्वय भैरहेको छ ।

अहिले अस्पतालमा मौज्दात रहेको अक्सिजन प्रयोग भइरहेको र अक्सिजन कन्सन्ट्रेटरबाट विद्युत् उपलब्ध भएका बेला अक्सिजन उत्पादन गरी प्रयोग गर्ने गरिएको व्यवस्थापक डा. बुढाले बताउनुभयो ।

जिल्ला अस्पताल जिल्लामै आधारभूत तथा अन्य स्वास्थ्य सेवा लिने बिरामीका लागि महत्वपूर्ण स्वास्थ्य संस्था हो । तर एक्सरे मेसिनमा पटकपटक आउने समस्या, यूएसजी मेसिनको खराबी र अक्सिजन प्लान्ट सञ्चालनमा अवरोध हुँदा अस्पतालको सेवा व्यवस्थापनमा चुनौती थपिएको छ । अस्पताल प्रशासनले एक्सरे मेसिन मर्मत गरी जतिसक्दो चाँडो सेवा सञ्चालनमा ल्याउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस