सल्यान, ३ माघ । सल्यानका एक युवाले आफ्नो जन्मदिनको अवसरमा […]
सल्यान, २६ मंशिर ।
जिल्लामा संचालित साक्षरता कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षा पढाइ र पुस्तकालयको जिल्लास्तरिय अनुगमन तथा समीक्षा गरिएको छ । जिल्लाको त्रिवेणि गाउँपालिका र बागचौर नगरपालिकामा बालबालिकाको पढ्ने सीप र बानिको बिकासका लागि प्रारम्भिक कक्षा पढाइ र बाल पुस्तकालयको अनुगमन गरिएको रुम टु रिडका कार्यक्रम अधिकृत तपेन्द्र वलीले जानकारी दिए ।
मंगलबार सल्यानको त्रिवेणि गाउँपालिका वडा नम्बर ४ चैतेडांडा स्थित सिद्ध आधारभुत बिद्यालयमा जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावल सहित जिल्ला स्तरिय अनुगमन टोली पुग्यो । विद्यालय परिसरमा प्रवेश गर्दा शिक्षण प्रक्रियाप्रति बालबालिकाको उत्साहपूर्ण सहभागिता देखिन्थ्यो । टोलिले कक्षा १, २ र ३ कक्षा संगै बाल पुस्तकालयको समेत अवलोकन गर्याे । कक्षाकोठामा सजावट स्वरूप आकर्षक अक्षर र चित्रहरू टाँसिएका थिए । कक्षाकोठामा भाषा शिक्षकले अक्षर र शब्द चिनाउने गतिविधिमा बालबालिकालाई व्यस्त राखेका थिए । पढाइ वैज्ञानिक विधिमा आधारित थियो, जसले बालबालिकालाई सजिलै सिक्न प्रेरित गरिरहेको देखिन्थ्यो ।
त्रिवेणि गाउँपालिका वडा नम्बर ४ चैतेडांडा स्थित सिद्ध आधारभुत बिद्यालयमा अनुगमन पश्चात जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले कक्षा अवलोकन गर्दा बालवालीकामा पढाइप्रती निकै राम्रो चासो देखिएको बताए । साक्षरता कार्यक्रमले बालबालिकाको पढ्ने बानी र क्षमता मात्रै नभई उनीहरूको जीवन बदल्ने बानी विकास गर्न ठूलो योगदान पु¥याएको छ । पढाइ गतिविधि र पुस्तकालयको उपयोगलाई अझ प्रभावकारी बनाउन स्थानीय तहका जनप्रतिनिधी, शिक्षक, अभिभावकबीचको सहकार्य आवश्यक छ, उनले भने ।
यस्तै मंगलबार नै बागचौर नगरपालिका वडा नं १० पिपलनेटा स्थित महेन्द्र माध्यमिक विद्यालयमा पनि जिल्ला समन्ववय समितिका उपप्रमुख असवीर बुढाथोकी सहितको टोलीले अनुगमन तथा समिक्षा गरेको हो । वडा अध्यक्ष ज्ञान प्रसाद शर्मा, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विष्णु प्रसाद वेलबासे, सामाजिक विकास कार्यालयका प्रास दिलिप कुमार ठाकुर, दलित विकास समाज सल्यानका संरक्षक निम बहादुर नेपाली, नगरपालिकाका शिक्षा शाखा प्रमुख चित्रा बस्नेत लगाएतको टोलिले पढाई गतिविधि एवम् साक्षरता कार्यक्रम अन्तर्गत संचालित क्रियाकलापहरुको अनुगमन र समिक्षा गरेको हो ।
रुम टु रिडका फिल्ड कार्यक्रम व्यवस्थापक खड्ग बहादुर कुवरले शिक्षकहरुलाई प्रशिक्षित गर्दै प्रारम्भिक कक्षामा पढाइको उपयुक्त र बैज्ञामनीक विधि प्रयोग गरेर बालबालिकालाई अक्षर चिन्ने, शब्द बनाउने र वाक्यको संरचना बुझ्न सहयोग गर्नका लागि साक्षरता कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरे । कार्यक्रमको प्रभावकारीता देखेर स्थानीय तहहरुले साझेदारी गरिरहेको र कतीपय स्थानीय तहहरुले आफ्नै सम्पूर्ण लगानीमा साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरे ।
त्रिवेणी गाउँपालिकाको अनुगमन टोलीका सहभागी त्रिवेणि ४ का वडा अध्यक्ष छविराज शर्मा, जिल्ला समन्वय अधिकारी निम बहादुर वली, गैर सरकारी संस्था महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र शाही, साक्षरता कार्यक्रम सल्यानका संयोजक उमेश खरेल, गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेश आचार्य, दलित बिकास समाज सल्यानका सदस्य शान्ता नेपाली, विव्यस अध्यक्ष कुल बहादुर पुन, प्रअ कुमार बस्नेत लगाएतले अनुगमनको अनुभुती सहित आवश्यक सुझाव प्रस्तुत गरेका थिए । अनुगमनले बालबालिकाको पढाइ र अध्ययन बानीमा उल्लेखनीय सुधार आएको देखिएको भन्दै टोलीका सदस्यहरुले कार्यक्रमलाई थप प्रभावकारी विभिन्न सल्लाह र सुझाव पनि दिएका थिए । अभिभावक र समुदायलाई अझ बढी सहभागी गराई बालबालिकाको अध्ययन बानीलाई घरमै पनि निरन्तरता दिन प्रेरित गर्नुपर्ने उनीहरुको सुझाव थियो ।
भाषा शिक्षकहरुले अनुभव सुनाउदै कक्षाकोठामा बालबालिकाको रुचि र ध्यानलाई समेट्न यो कार्यक्रम अत्यन्त उपयोगी देखिएको जनाए । कक्षा १ का भाषा शिक्षक लक्ष्मी खड्काले पहिले अक्षर चिन्न समस्या भएकाहरूले अहिले सजिलै पढ्न र लेख्न थालेको भन्दै पुस्तकालयले उनीहरूलाई स्वतन्त्र रूपमा पुस्तक पढ्न सिकाएको उल्लेख गरिन् ।
यस्तै कार्यक्रममा उपस्थित अभिभावकहरुले विद्यालयका साक्षरता कार्यक्रम लागू भएर महत्वपूर्ण सुधारका काम भएपछि आफ्ना वालवालिकाहरु नियमित स्कुल जाने गरेको, घरमा पनि नियमित पढ्ने गरेको अनुभव सुनाएका थिए । प्रारम्भिक कक्षामा बालबालिकालाई अक्षर चिनाउने, शब्द निर्माण गराउने र कथा वाचन गराउने विधिहरूले छोटो समयमा ठूलो सुधार ल्याएको तथा शिक्षकहरूलाई पनि थप जिम्मेवार बनाएको साक्षरता सहजकर्ता कमल महताराको भनाई छ ।
शिक्षित बालबालिकाहरुबाट नै विश्वमा परिवर्तनको बालनी हुन्छ भन्ने मान्यताका साथ स्थानीय तहहरु र रूम टु रिडको सहकार्य, शिक्षा विकास तथा समन्वय इकाइ सल्यानको समन्वय तथा दलित विकास समाजको व्यवस्थापनमा साक्षरता कार्यक्रम संचालनमा छ । साक्षरता कार्यक्रम अन्तर्गत विद्यालयको भौतिक पूर्वाधार निर्माण, गुणस्तरीय पठन सामग्री विकास, शिक्षक पेसागत तालिम, वैज्ञानिक पद्धतिमा आधारित पाठ्यपुस्तक तथा शिक्षण विधि र पुस्तकालय स्थापना तथा सञ्चालनका कामहरु भइरहेका छन् ।