छत्रेश्वरी २ मा एमालेको नया कमिटी निर्माण, स्थानियद्वारा मयुर नाच प्रदर्शन

सल्यान, ७ मंशिर ।

छत्रेश्वरी गाउँपालिका–२, सल्यानमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो वडा अधिवेशन शुक्रबार उत्साहजनक रुपमा सम्पन्न भएको छ । स्थानियहरुको मौलिक कला संस्कृति मयुर नाच सहित उत्साहप्रद उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।

दहखोलामा सम्पन्न अधिवेशनले टिकाराम पुनको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको छ। कमिटीका अन्य पदाधिकारीमा उपाध्यक्ष विजय घर्ती, सचिव जीवन भण्डारी, उपसचिव टीका केसी र जीवन बुढा रहेका छन्। यस्तै सदस्यहरुमा बिष्णु वली, चन्द्रप्रकाश वली, मेघा वली, दिपक चन्द, मिना वली, दिलमाया बुढा, हरि बहादुर सुनार, दिपेन्द्र कुमार वली, लोकेन्द्र बहादुर पुन र दल बहादुर घर्ती रहेका छन् ।

तेज बहादुर योगीको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरूले एमालेको लोकप्रियता, जनअपेक्षा र पार्टीको जिम्मेवारीबारे धारणा राखेका थिए। प्रमुख अतिथि नेकपा एमाले सल्यानका उपाध्यक्ष तथा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले मुलुकको विकास र स्थायित्वका लागि एमालेको भूमिकालाई जनताले माया गरिरहेको उल्लेख गरे । उनले भने, “एमालेको लोकप्रियता जनताको विश्वास र समर्थनमा आधारित छ। देशले स्थायित्व, समृद्धि र नेतृत्वको लागि एमाले एकमात्र विकल्प हो।”

विशिष्ट अतिथि एमाले जिल्ला कमिटी सचिवालय सदस्य फौद बहादुर बस्नेतले पार्टीले राष्ट्रको आवश्यकता र जनअपेक्षालाई समेटेर अघि बढिरहेको बताए । उनले भने, “स्थानीय तहदेखि केन्द्रसम्म एमालेको नेतृत्वले विकास र सुशासनको उदाहरण प्रस्तुत गरिरहेको छ। एमालेलाइ कमजोर बनाउन विभिन्न दुष्प्रचार भैरहेका छन् ।”

जिल्ला कमिटी सदस्य खडग शाही, बेल बहादुर चन्द, छत्रेश्वरी गाउँपालिका कमिटी अध्यक्ष ज्ञान बहादुर खड्का, पुर्व जिल्ला कमिटी सदस्य टोप बहादुर चन्द, १ नम्बर वडा कमिटी अध्यक्ष काली बहादुर मल्ल लगायतले शुभकामना मन्तव्य राख्दै पार्टीलाई सशक्त बनाउन सबैको सक्रिय योगदान आवश्यक रहेको बताएका थिए ।

पालिका कमिटी तथा वडा कमिटीका अन्य पदाधिकारी समेतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन पालिका कमिटी उपसचिव बसन्ता जीसीले गरेकि थिइन् ।

प्रतिक्रिया दिनुहोस