पुनर्जागरणको बाटोमा मयुर नाच

सल्यानमा अभिभावकसंग नाच्दै किशोरकिशोरी

सल्यान, १३ कार्तिक ।

धार्मिक, सांस्कृतिक तथा सामाजिक उत्सवका अवसरमा प्रस्तुत गरिने सेरिंगे नाच अर्थात मयुर नाच सल्यानमा पुनर्जागरणको मार्गमा अग्रसर भएको छ । मयूरको प्वाँख पछाडि राखेर नाचिने यो नाच समाजमा निकै आकर्षक नाचका रूपमा परिचित छ । यद्यपी पछिल्लो समय मौलिक तथा परम्परागत संस्कृति हराउँदै गएको सन्दर्भमा पछिल्लो पुस्ताले सल्यानमा सेरिंगे नाचमा आकर्षण देखाउन थालेका हुन् । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा समाजका युवा देखि बालवालिका समेत मयुर नाचलाई पुनर्जीवित गर्नका लागि यो नाचमा संलग्न हुन थालेका हुन् ।

छत्रेश्वरी गाउँपालिका वडा नं २ डिग्रे खोरबारेकी १३ वर्षिया निर्जला पुन मगर आफ्नो बुवा तथा काकाहरुसंगै मयुर नाच नाच्न थालेकी छिन् । मयुरको अनुकरण गर्दै रंगीन पोशाक र पंख लगाएर मयुरको चाल, रौनक र सौन्दर्यलाई प्रस्तुत गर्दा उनलाई निकै रमाइलो लाग्ने गरेको छ ।

उनी भन्छिन्, ‘हाम्रा गुरु विजय घर्तीमगर हुनुहुन्छ । सेरिंगे नाच सिक्न थालेको भर्खर १५÷२० दिनजती भयो ।’ गाउँमा बुवाहरु नाचेको देखेको भन्दै उनले फुर्सदको समय निकालेर यो नाच सिक्ने गरेको बताइन् । शुक्रबार छत्रेश्वरीको दमाचौरमा आयोजित जिल्लास्तरिय कराँते तथा नृत्य प्रतियोगितामा निर्जला सहित किशोर किशोरीहरुले आफ्ना बुवा, अंकलहरु सहित मयुर नाच प्रदर्शन गरेर राम्रै तारिफ पनि पाए ।

परम्परागत मयुर नाचलाई बाल्यकालमै सिक्न सकून् र यसले युवा पुस्तालाई आफ्ना पुराना सांस्कृतिक रीतिथिति प्रति लगाव बढाउन प्रेरित गर्न सकोस् भनेर छत्रेश्वरी २ को जनजाती मगर संघमा रहेका अभिभावकहरुले आफ्ना छोराछोरीलाई समेत यस नाचमा समावेश गरेर सिकाइरहेका छन् ।

विगतदेखि नै सेरिंगे नाच्दै आएका चेत बहादुर घर्ती मगरले मेला महोत्सव, पुजा, विहे तथा सामाजिक कार्यक्रममा आफुहरुले यो नाच प्रदर्शन गर्नेगरेको उल्लेख गरे । खैजडी, बासुरी, हारमुनियम, पैजन, झ्याली लगाएतका बाजागाजालाई विभिन्न धुन दिएर केही आधुनिकता र परम्परागत सांस्कृतिक पक्षलाइ पनि समन्वय गर्दै सेरिंगे नाच नाच्ने गरेको उनको भनाई छ ।

अर्का किशोर १७ वर्षिय प्रसान्त कुमार पुन मगरले मयुर नाच नाच्न रहर लाग्ने गरेको र विस्तारै यसको ताल तथा अन्य कला सिकिरहेको बताए । बाउ बाजेले बचाउँदै आएको मयुर नाचलाई संरक्षण गर्नुपर्छ भन्ने लागेर आफुहरुले अग्रजहरुसंग नाचिरहेको उनी बताउँछन् ।

परम्परागत कला र संस्कृति संरक्षणको आवश्यकता झन् बढ्दै

डिग्रे खोरबारेमा स्थानीयहरु अघिल्लो पुस्ता र पछिल्लो पुस्ताबीच संयोजन गर्दै सेरिंगे नाच संरक्षणमा जुटेका हुन् । यस नाचका गुरु विजयकुमार घर्ती मगरले युवाहरु सबै विदेश लगाएत गाउँभन्दा वाहिर हुनु, आधुनिक गित संगित संगै मौलिक संस्कृतीमाथी प्रहार हुनु तथा पछिल्लो पुस्ताको यसप्रति रुचि नहुनु जस्ता कारणले पौरानिक कला संस्कृतीको अस्तीत्व संकटमा परिरहेको बेला आफुहरुले मयुर नाच बचाउनका लागि सक्दो प्रयास गरेको बताउँछन् । ‘यो नाच नाच्नका लागि २२ जनाभन्दा माथीको संख्या चाहिन्छ’, उनले भने, ‘किशोरकिशोरीहरु सहित गाउँका आमा समूह, महिला समूहलाई पनि आवद्ध गर्दै नाच सिकाउदै विभिन्न अवसरमा नाच्ने गरेका छौँ । उनीहरु पनि सिक्नलाई उत्सुक छन् । दैनिक २÷३ घण्टा सिक्ने गरेका छौँ ।’

सेरिंगे नाचको पौराणिक महत्व, स्थानीय सम्पदा संरक्षणको चेतना, र नवजागरणका प्रयासले गर्दा पछिल्लो पुस्ताले यसको महत्व बुझ्न थालेका छन् । यस प्रकारको नाचमार्फत आफ्नो पहिचान र मौलिकता कायम राख्न चाहने किशोर किशोरी तथा युवायुवतीहरु यसतर्फ आकर्षित भएका हुन् ।

मयुर नाचसंगै सोरठी, लहरे नाच तथा पञ्चेबाजा लगाएतका पौराणिक लोक कला संस्कृती तथा यसमा प्रयोग हुने रैथाने बाजा समाजको संस्कार र संस्कृतिको अभिन्न अंश भएकाले यसको संरक्षणमा सबैको प्रयास जरुरी रहेको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी बताउँछन् । गाउँपालिकाभित्र हुने महोत्सव, खेलकुद, सांस्कृतिक लगायत विभिन्न कार्यक्रममा मौलिक कला संस्कृतीको प्रस्तुतिलाई प्राथमिकता र प्रोत्साहन गरिरहेको भन्दै उनले आगामी दिनमा पनि संस्कृती संरक्षणको लागि ठोस योजना सहित काम गर्ने विषय आफ्नो प्राथमिकता हुने जनाए । अध्यक्ष बुढाथोकीले युवापुस्तालाई मौलिक कला संस्कृती र बाजा बजाउने कला सिक्न प्रेरित गर्नका लागी स्थानीय कलाकार र बाजा बजाउने तालिम र प्रोत्साहन कार्यक्रम आयोजना गर्ने तथा यस्ता समूहलाई आर्थिक तथा अन्य सहयोग प्रदान गर्नुपर्ने आवश्यकता देखिएको उल्लेख गरे ।

सल्यान, रुकुम, रोल्पामा निकै प्रख्यात रहेको सेरिंगे अर्थात् मयुर नाच यी क्षेत्रको सांस्कृतिक सम्पदाको महत्वपूर्ण अंश हो । आधुनिक समयमा परम्परागत कला र संस्कृति संरक्षणको आवश्यकता झन् बढ्दै गएको । परम्परागत नृत्यको आफ्नो छुट्टै विशेषता भएकाले पछिल्लो पुस्तासम्म जीवित तुल्याउनका लागि यी र यस्ता नाच र संस्कृतीको प्रचारप्रसार एवम् आवश्यक पर्ने सामग्री व्यवस्थापन एवम् जनशक्ति उत्पादनमा ध्यान पुर्याउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस