सल्यानको कालिका आविमा ‘स्कूल म्युजियम’

शिक्षामा सकारात्मक प्रभाव, समुदाय तथा विद्यालयबीचको सम्बन्ध बलियो

सल्यान, १० असोज ।

सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं ५ मा रहेको कालिका आधारभुत विद्यालयले लोपोन्मुख सामग्रीहरु संकलन गरेर संग्राहलय (स्कुल म्युजियम) बनाएको छ । विद्यालयले आफ्नो क्षेत्रको लोपोन्मुख सांस्कृतिक र ऐतिहासिक सम्पदालाई संरक्षण गर्न महत्वपूर्ण कदम उठाएको हो । विद्यालयले सामुदायिक प्रयासको माध्यमबाट स्थानीय समुदायका विभिन्न लोपोन्मुख सामग्रीहरू संकलन गरी संग्रहालय (स्कूल म्युजियम) स्थापना गरेको हो । विद्यार्थीलाई तथा समुदायका अन्य मानिसलाइ समेत आफ्नो समुदायको इतिहास, संस्कृति, र परम्पराको ज्ञान दिनका लागि संग्राहलय बनाइएको विद्यालयका प्रधानाध्यापक बालाराम वली बताउँछन् । ‘गाउँमा बिस्तारै हराउँदै गइरहेका परम्परागत सामग्रीहरूलाई संरक्षण गरी आगामी पुस्तालाई तिनको महत्वबारे जानकारी दिनका लागि हामीले यस्तो प्रयास गरेका हौँ’, उनले भने ।

म्युजियममा गाउँघरमा अघिल्लो पुस्ताले प्रयोग गरेका ठेटुवा बुन्ने तान, हाटबजार गर्ने भारे डोका, तुलो, भाङ्ग्रो, कोल, लिच्छीविकालिन लिपी, ढिकी, जाँतो, ठेगी, काठको जुत्ता (खराउ), घोडाको कैजा, छड्के झुलो, सुर्के थैली, बास्सा (पर्सको रुपमा प्रयोग हुने), दाह्री तथा कपाल काट्ने छुरा, लालटिन, स्याउँ, राउटेको कोसी, विस्कुन सुकाउन प्रयोग गरिने भार, चोयाको भकारी राखिएको छ । यस्तै माटो र गोबरबाट तयार गरिएको डरो (भकारी), भान्सामा प्रयोग गरिने पुराना सामग्री, महिला तथा पुरुषका पुराना भेषभुषा, चौरासी प्रकारका जडिबुटी, गेडागुडिबाट बनाइएको कोलाज, रैथाने जातका एकदलीय र दुईदलीय विरुवाको विउ संकलन, इशानी चराहरुको गुँड पनि म्युजियममा राखिएको प्रअ वलीले जानकारी दिए ।

म्युजियममा राखिएका सबै सामग्रीहरू शिक्षक, विद्यार्थी तथा अभिभावक एवम् समुदायबाट सहयोग प्राप्त भएको हो । यो संग्रहालयको निर्माणमा स्थानीय समुदायको उत्साहजनक सहभागिता देखिएको छ । गाउँलेहरू आफ्ना पुराना र लोपोन्मुख सामग्रीहरू विद्यालयलाई प्रदान गरेर यस अभियानमा जोडिएका छन् । विद्यालयका शिक्षक, विद्यार्थी, र अभिभावकहरूको सक्रियताले गर्दा यो प्रयास सम्भव भएको प्रअ वली बताउँछन् । म्युजियमले समुदायको ऐतिहासिक र सांस्कृतिक सम्पदालाई भावी पुस्ताको लागि सुरक्षित राख्न सहयोग पु¥याएको स्थानीयहरुको भनाई छ । संग्राहलयका लागि कालिका आधारभुत विद्यालयले एउटा हलको व्यवस्था गरेको छ । सिसाको फ्रेममा सामग्रीहरु राखिएको छ भने प्रत्येक सामग्रीको नामांकन पनि गरिएको छ ।

शिक्षामा सकारात्मक प्रभाव, समुदाय तथा विद्यालयबीचको सम्बन्ध बलियो

संग्रहालयको स्थापनाले विद्यालयको शिक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । विद्यार्थीले कक्षाकोठाको पाठ्यपुस्तक बाहिरको ज्ञान प्रत्यक्ष रूपमा सिक्ने अवसर पाएका छन् भने उनीहरूलाइ आफ्ना पुराना परम्पराहरूको महत्व बुझ्न मद्दत पुगेको छ । यसले गर्दा विद्यार्थीमा गर्व र पहिचानको भावना बढाउँने विश्वास गरिएको छ । पाठ्यक्रम अनुसार सामाजिक विषयमा विगतको बारे जान्न र बुझ्न विद्यार्थीलाई सजिलो भएको विद्यालयका प्रअ वली बताउँछन् । उनले भने, ‘विषयवस्तुको सान्दर्भीकता मिलाएर संग्राहलयमा विद्यार्थी भाइवहिनिहरु सहभागि हुन्छन् । संग्राहलयमा राखिएको लिपिको कारण कक्षा ४ र ५ का विद्यार्थीले लिच्छीविकालिन लिपीमा आफ्नो नाम लेख्न सक्ने भएका छन् ।’

वि.सं. २०७५ सालदेखि म्युजियम निर्माणको काम कालिका आधारभुत विद्यालयले सुरुवात गरेको थियो । प्रअ वलीले नै सुरुमा आफ्नो घरबाट तुलो ल्याएर सुरुवात गरेका थिए । शिक्षक कर्मचारीका विच छलफल गरेपछि त्यसलाई विद्यालय व्यवस्थापन समितिको बैठकले निर्णय गरेपछि म्युजियम निर्माण कार्य गरिएको थियो ।

कालिका आधारभूत विद्यालयको यो प्रयासले स्थानीय सांस्कृतिक सम्पदालाई संरक्षण गर्न मद्दत पु¥याएको र समुदाय तथा विद्यालयबीचको सम्बन्धलाई पनि बलियो बनाएको छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले जनाए । ‘यो संग्रहालयले भावी पुस्तालाई आफ्नो इतिहास र परम्परासँग जोडिराख्न महत्वपूर्ण भूमिका खेलेको छ’, उनले भने, ‘शिक्षालाई जीवन्त र समृद्ध बनाउनका लागि अरु विद्यालयहरूले पनि यस्ता प्रयासहरू अगाडि बढाउन आवश्यक छ ।’

कालिका आधारभूत विद्यालयले भविष्यमा संग्रहालयलाई अझ विस्तार गर्ने योजना बनाएको छ । यसका लागि स्थानीय तथा बाह्य स्रोतको व्यवस्थापन गर्दै अन्य लोपोन्मुख सामग्रीहरू संकलन गर्ने र संग्रहालयलाई शैक्षिक पर्यटनको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । विद्यालयको निर्णय अनुसार म्युजियम अवलोकनका लागि व्यक्तिगत रुपमा ५० रुपैयाँ र संस्थागत रुपमा १०५० रुपैयाँ शुल्क लिने गरिएको छ ।

हरित विद्यालय अभियान, शैक्षिक गुणस्तर वृद्धिको प्रयास
कालिका आधारभूत विद्यालयले म्युजियमको अलावा हरित विद्यालयको अभियान पनि चलाइरहेको छ । विशेष गरी प्रअ वलीको सक्रियता र अन्य शिक्षक, विद्यार्थी, अभिभावक एवम् समुदायको सहयोगमा विद्यालयले नमुना कार्य गर्दै आएको छ । विद्यालयको आफ्नै करेसाबारी रहेको छ । जहाँ उत्पादित तरकारी, फलफुल दिवा खाजाको रुपमा विद्यालयको क्यान्टीनमा तयार हुने गरेको छ । विद्यालयको कम्पाउण्ड छेउँछाउमा अभिभावको लगानीमा वृक्षारोपण गरिएको छ । करेसाबारीमा प्रांगारिक मल अभिभावकले सहयोग गरेका छन् भने अलि ढाँर भएको जमिन भएकाले स्थानीय गोगनपानी सामुदायीक वन समूहले माटो उपलब्ध गराएको विद्यालयले जनाएको छ ।

विद्यालयमा कृषि कर्म, करेसाबारी व्यवस्थापन तथा हरित विद्यालयका लागि प्रअ वलीले नेतृत्वदायी भुमिका निर्वाह गरेका छन् । विहान, साझ उनी करेसाबारीमै काम गरिरहेका हुन्छन् । हप्ताको दुई दिन विशेष गरेर उनले कृषिमा समय दिन्छन् । एक जोड कपडा र चप्पल उनको झोला वा विद्यालयमै हुन्छ । उनी भन्छन्, ‘सहकर्मी शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीको सहयोगबाट नै अभियान चलाइएको हो ।’ २०५० असोज १ गतेदेखि स्थायी रुपमा शिक्षक सेवामा प्रवेश गरेका वलीले पढाउन थालेको भने २८ वर्ष भइसकेको छ । विद्यालयलाइ वार्षिक रुपमा नियमित आम्दानीको श्रोत बढाउनका लागि नजिकैको कुनै जमिन भाडामा लिएर कृषि कर्म गर्ने उनको सोँच रहेको छ । हाल विद्यालयको नाममा दर्ता श्रेस्ता रहेको जमिन १ रोपनी १ आना ३ पैसा ३ दाम रहेको छ भने ५ रोपनी जती ऐलानी जमिन छ ।

विद्यालयको विकासका लागि देशविदेशमा रहेका सहयोगी तथा भुपु विद्यार्थी, वयापारी लगाएतले नगद तथा जिन्सी सहयोग उपलब्ध गराउनेगरेको कालिका आधारभुत विद्यालयले जनाएको छ । विद्यालयमा २ लाख ७९ हजार ५५१ रुपैयाँको छात्रवृत्ति अक्षयकोष समेत स्थापना गरिएको छ । कोष सञ्चालनका लागि कार्यविधि निर्माण गरिएको प्रअ वलीले जनाए ।
यसैगरी शैक्षिक गुणस्तर वृद्धिका लागि अभिभावकको सक्रियता, पुस्तकालय व्यवस्थापन लगाएतका कार्य गरिएको छ । २ हजार एक सय बढी पुस्तकहरु पुस्तकालयमा रहेको जनाउदै उनले कक्षा ३ देखि ५ सम्मका विद्यार्थीले महिनामा न्युनतम ५ वटा पुस्तक पढ्नेगरेका छन् भने कक्षा १ र २ का विद्यार्थीले पनि आफ्नो स्तर अनुसारका पुस्तक पढ्ने गरेका छन् । विद्यार्थीको श्रृजनाहरु भित्ते पत्रिकामा प्रकाशन गर्नेगरिएको छ । जनशक्ति अभावले कक्षा १ देखि ३ सम्म ग्रेड टिचिंगको समस्या, जीर्ण भवन, भएका भवनमा जस्ता पाता लगाइएकाले वर्षा तथा हावाहुरी चल्ने समयमा समस्या विद्यालयका चुनौतीका रुपमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस