आफैले  ओढेको रेनकोट मोटरसाइकलको पाङ्ग्रामा बेरिँदा एक जनाको मृत्यु

भदौ ६, २०७८ आइतबार

भदौ,६|आफैले  ओढेको रेनकोट मोटरसाइकलको पाङ्ग्रामा बेरिँदा सोलुखुम्बुमा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा माप्यदूधकोसी गाउँपालिका २ का ३० वर्षीय युवक सुमन राई रहेका छन ।

पानी परेको समयमा बासाबाट सल्लेरीतर्फ बा ५४ प ७८२९ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलमा निस्किएका सुमनले ओतका लागि रेनकोटको सहारा लिएका थिए ।तर त्यही रेनकोटको कारण उनको ज्यान गएको छ।

प्रत्यक्षदर्शी सुकुमाया राईका अनुसार माप्यदूधकोसी गाउँपालिकाको दियाले सडक खण्ड अन्तर्गत वडा नम्बर ५ कागतेमा पुगेपछि सुमनले ओढेको रेनकोटको पछिल्लो भाग मोटरसाइकलको पछाडिको पाङ्ग्रामा बेरिन पुग्यो । रेनकोट लामो भएका कारण पछाडिको चेन तथा टायरमा बेरियो । टाउकोसहित जिउ ढाक्ने गरी ओढेको रेनकोट बेरिएको केही समयमै सुमन भुइँमा ढले, रेनकोट घाँटीमा पासो लाग्दा उनको घटनास्थलमै ज्यान गयो ।

घटनास्थलमा पुगेका प्रहरीका अनुसार मृतक सुमनको घाटीमा रेनकोटले बेरिएको दाग देखिएको छ भने शरीरका अन्य भागमा चोट छैन । सुमनको मात्र हैन ग्रामीण भेगलगायका सडकमा सञ्चालन हुने मोटरसाइकलमा प्रयोग हुने रेनकोटले दुर्घटनाको जोखिमलाई उच्च बनाइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक ९डीएसपी० कवित कटवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस