गद्धारी गर्नेलाई कारबाही हुन्छ “एमाले संसदीय दलका प्रमुख सचेतक”

३ वैशाख २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले कर्णाली प्रदेशका ४ सांसदलाई कारबाही गर्ने तयारी गरेको छ। एमाले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई कारबाही गर्ने तयारी भइरहेको एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले बताएका हुन्।

‘हामीले संसदीय दलको बैठक बस्ने तयारी गरेका छौँ। केही समयमै चार जना सांसदलाई कारबाही हुन्छ,’ शाहले भने, ‘अराजनीतिक र अलोकतान्त्रिक काम गर्ने पार्टीको हितविपरीत गद्धारी गर्नेहरूलाई छिट्टै कारबाही हुन्छ।’

४ जना सांसदहरूले शुक्रबार पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। एमालेका ४ सांसदले फ्लोर क्रस गरी विश्वासको मत दिएपछि मुख्यमन्त्री शाहीको पद जोगिएको छ। अब उनी निरन्तर रूपमा मुख्यमन्त्री कायम रहनेछन्।

प्रतिक्रिया दिनुहोस