टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति

१६ मंसिर २०७७, मंगलवार

भिडियो सेयरिङ एप टिकटकमा एक १६ वर्षीया किशोरी १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति बनेकी छिन् । १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति चार्ली डिमेलियो अमेरिकी नागरिक हुन् । चार्लीले झन्डै डेढ वर्षको अवधिमा नै यो उपलब्धि हासिल गरेकी हुन् ।

उनले टिकटकमा विशेषगरी बन्द कोठामा नाचेको भिडियो शेयर गर्दै आएकी छिन् । यी १६ वर्षीया किशोरी बहुप्रतिभाशाली छिन्, उनले फिल्मका साथै ठूला मेकअप तथा फेसन ब्राण्डसँग काम गरिसकेकी छिन् ।

एउटा युट्युब भिडियोमा चार्लीको व्यवहारलाई लिएर विवाद भएको भोलिपल्ट उनले उपलब्धि हासिल गरेकी हुन् । आफ्नो परिवारसँगको रियालिटी सिरिजको पहिलो एपिसोड (डिनर विथ द डिमेलियोज)मा उनले खाना तयार बनाउने शेफलाई अभद्र व्यवहार देखाएको उनका फ्यानले दाबी गरेका छन् । त्यसको विरोधमा ६ लाख फ्यानले उनलाई अनफलो नै गरे ।

डिमोलियाले एउटा माफी मागेको भिडियो शेयर गरेपछि अहिले विवाद मत्थर भएको छ र आउँदा दिनमा यस्तो व्यवहार नगर्ने बताएकी छिन् । आफ्नो उपलब्धिलाई लिएर उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन ‘१० करोड जनाले मलाई सपोर्ट गरिरहेका छन्’ पत्याउनै गाह्रो छ ।

 

प्रतिक्रिया दिनुहोस