शारदामा निःशुल्क घर बीमा कार्यक्रमबाट ६५ हजार क्षतिपूर्ति

सल्यान, ९ मंशिर ।

सल्यानको शारदा नगरपालिकाले सञ्चालन गरेको निःशुल्क घर बीमा कार्यक्रम अन्तर्गत एक घरलाई ६५ हजार रुपैयाँ क्षतिपूर्ति रकम भुक्तानी गरिएको छ । वडा नम्बर १४ का विष्णु कुमार बुढाथोकीलाई ६५ हजार रुपैयाँ क्षतिपूर्ति रकम भुक्तानी गरिएको हो । विपद् तथा अन्य जोखिमका कारण घरमा क्षति पुगेको अवस्थामा नागरिकलाई आर्थिक राहत उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमबाट बुढाथोकीले बीमा दाबी बापतको रकम प्राप्त गरेका हुन् ।

नगरपालिकाले नगरवासीको निजी आवासीय घरको सुरक्षा गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारको घर बीमा कार्यक्रम अन्तर्गत निःशुल्क बीमाको व्यवस्था मिलाउँदै आएको छ । यस कार्यक्रमबाट घरधनीले तोकिएको बीमा सीमाभित्रको बीमा शुल्क आफैँ तिर्नुपर्ने अवस्था छैन । प्रदेश सरकारको कार्यविधि अनुसार एकाघर परिवारको एउटा घरको बीमा शुल्क प्रदेश सरकारले व्यहोर्ने व्यवस्था छ ।

बुढाथोकीलाई बीमा रकम हस्तान्तरण कार्यक्रममा नगरप्रमुख प्रकाश भण्डारी, वडा नम्बर १४ का अध्यक्ष प्रकाश पुन, नेको इन्स्योरेन्स सल्यानका शाखा प्रमुख नारायण दाहाल, नेकपाका केन्द्रीय सदस्य प्रकाश गिरी, समाजसेवी सुबास रावत लगायत स्थानीयको उपस्थिति थियो ।

रकम हस्तान्तरणका क्रममा नगरप्रमुख भण्डारीले नागरिकको घर तथा सम्पत्तिको सुरक्षा गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताए । नागरिकले आफ्नै खल्तीबाट बीमा शुल्क खर्च नगरी घर बीमाको सुविधा प्राप्त गर्न सकून् र विपद् वा अन्य जोखिमबाट घरमा क्षति पुगेको अवस्थामा आर्थिक राहत मिलोस् भन्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको उनको भनाइ थियो ।

कर्णाली प्रदेश सरकारले जारी गरेको घर बीमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०८१ अनुसार निजी आवासीय घरको प्राविधिक मूल्यांकन गरी बीमांक कायम गर्ने व्यवस्था छ । प्रतिघर अधिकतम २० लाख रुपैयाँ सम्मको बीमांक बराबरको जोखिम मूल्यांकनका आधारमा लाग्ने बीमा शुल्क प्रदेश सरकारले व्यहोर्ने प्रावधान छ । एकाघर परिवारको एकभन्दा बढी घर वा २० लाख रुपैयाँभन्दा बढीको बीमा गराउनुपर्ने अवस्थामा अतिरिक्त शुल्क घरधनीले व्यहोर्नुपर्ने व्यवस्था छ ।

घर बीमा कार्यक्रमले भूकम्प, आगलागी, बाढी, डुबान, हावाहुरी, चट्याङ, पहिरो, जमिन भासिने तथा अन्य प्राकृतिक विपद्का कारण घरमा हुने क्षतिलाई समेट्ने व्यवस्था गरेको छ । घरमा क्षति पुगेपछि सम्बन्धित बीमा कम्पनीमा जानकारी गराई आवश्यक कागजात र प्रमाणसहित दाबी प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ ।

शारदा नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक प्रगति प्रतिवेदनमा ४ हजार ७०७ घरधुरीको घर बीमा गरिएको उल्लेख छ । बीमा कार्यक्रम कार्यान्वयनमा आएपछि क्षति पुगेका घरधनीले क्रमशः क्षतिपूर्ति पाउन थालेका छन् । यसअघि पनि नगरपालिकाले घर बीमाबापत विभिन्न घरधनीलाई क्षतिपूर्ति रकम हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस