कपुरकोट–४ मा चौथो वडाकपसँगै ज्येष्ठ नागरिक सम्मान गरिँदै

सल्यान, ७ मंशिर ।

सल्यानको कपुरकोट गाउँपालिका ४, धनवाङ्गमा चौथो वडाकप प्रतियोगिता हुने भएको छ । वडा कार्यालयले मंसिर १२ देखि १४ गतेसम्म प्रतियोगिता आयोजना गर्ने र सोही अवसरमा ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने जनाएको छ ।

वडा अध्यक्ष मित्रलाल कठायतले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता हुन लागेको नजाए । खेलकुद तथा विविध कार्यक्रम प्राथमिक विद्यालय, क्युरेनी नजिकको प्राङ्गणमा बिहान ११ बजेदेखि सञ्चालन हुनेछन् ।

प्रतियोगिता अन्तर्गत टोलस्तरीय पुरुष तथा महिला भलिबल मंसिर १२ देखि १४ गतेसम्म हुने तय भएको छ । जसमा प्रत्येक टोलबाट एक–एक टिम (७ देखि ९ जनासम्म) सहभागी हुन सक्नेछन् । त्यसैगरी मंसिर १३ गते पुरुष र महिला घैँटोफोड (प्रत्येक टोलबाट २/२ जना) तथा खुल्ला भाले छोप्ने प्रतियोगिता (प्रत्येक टोलबाट ३/३ जना) हुनेछन् । मंसिर १४ गते खुल्ला बाइक स्लो प्रतियोगिता सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ ।

खेलकुदसँगै वडाका ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिने कार्यक्रम पनि समावेश गरिएको छ । कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन खेलप्रेमी, टोल विकास संस्था, युवा, महिला तथा आमा समूह, ज्येष्ठ नागरिक र सम्पूर्ण वडावासीलाई सहभागिताका लागि वडा कार्यालयले अनुरोध गरेको छ ।

सहभागी टिम तथा खेलाडीहरूले मंसिर १२ गते बिहान १० बजेभित्र नाम दर्ता गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस