सल्यान, ४ मंशिर । सल्यानमा स्क्रब टाइफसको संक्रमण विस्तारै घट्दै […]
सल्यान, ५ मंशिर ।
सल्यानमा समुदायमा आधारित रोग निगरानी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । समुदाय स्तरमै रोगको पहिचान, निगरानी तथा समयमै सूचना संकलन र व्यवस्थापन गर्ने उद्देश्यले स्वास्थ्यकर्मीहरूका लागि समुदायमा आधारित रोग निगरानी सम्बन्धी अभिमुखीकरण गरिएको हो ।
स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना तथा कामना हेल्थ नेपालको व्यवस्थापनमा सञ्चालित छैटौँ ब्याचको अभिमुखीकरण कार्यक्रम शनिबार श्रीनगर स्थित होटल युनाइटेडमा सम्पन्न भएको हो ।
कार्यक्रममा सल्यान जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य चौकी इन्चार्ज, तथ्यांक प्रविष्टिकर्ता र सल्यान अस्पतालका स्वास्थ्यकर्मी गरी ३० जनाको सहभागिता रहेको थियो ।
स्वास्थ्य सेवा कार्यालय पश्चिम रुकुमका जनस्वास्थ्य अधिकृत एवं मुख्य प्रशिक्षक हरि बहादुर पुन, स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तथा प्रशिक्षक तारा प्रसाद रिजालले अभिमुखिकरण गरेका थिए ।
उनीहरूले समुदायमा रोगको निगरानी, रोगको समयमै पहिचान, सूचना संकलन तथा प्रवाह र रोग निगरानी प्रणालीको प्रभावकारी प्रयोग सम्बन्धी विषयमा अभिमुखिकरण गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय सल्यानकी सि.अ.न.मि. थुमा बुढाथोकी, कोल्ड चेन सहायक गोविन्द चलाउने, कामना हेल्थ नेपालका प्रतिनिधि पिपल बहादुर क्षेत्री र सुदर्शन खाती लगायतको पनि सहभागिता थियो ।
समुदायस्तरमा देखिने रोग तथा स्वास्थ्य समस्याको समयमै पहिचान र प्रभावकारी निगरानी गर्न स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
