रास्वपाको संगठन विस्तारमा जोड, कपुरकोटमा बृहत् छलफल

सल्यान, २८ असोज ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तार र सुदृढीकरणलाई केन्द्रमा राखेर सल्यानको कपुरकोट गाउँपालिकामा बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

पार्टीको ‘हामी आउँदै छौँ’ अभियान अन्तर्गत सोमबार आयोजित कार्यक्रममा संगठनलाई स्थानीय तहसम्म विस्तार गर्ने तथा स्थानीय समसामयिक विषयमा छलफल गरिएको हो ।

प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रास्वपा जिल्ला सभापति प्रकाश नेपाली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रमको सभाध्यक्षता कपुरकोट गाउँपालिका कार्यवाहक सभापति काशीराम रेउलेले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला सदस्य तथा संगठन विभाग प्रमुख रुद्रमणि शर्मा, त्रिवेणी गाउँपालिका सभापति खड्गबहादुर बुढा, युवा नेता रामबहादुर केसी र शोभाकर शर्मालगायतको उपस्थिति थियो । पालिका पदाधिकारी, संगठन विभागका प्रमुख तथा उपप्रमुख, विभिन्न वडाका सभापति र उपसभापति तथा पार्टीका नेता–कार्यकर्ता सहभागी थिए ।

कार्यक्रममा पालिका कोषाध्यक्ष कमला विकले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव चुडामणि पुनले सञ्चालन गर्नुभएको थियो ।

रास्वपाले ‘हामी आउँदै छौँ’ अभियानमार्फत स्थानीय तहमा संगठन सुदृढ गर्दै जनताका आवाज, आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने लक्ष्य राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस