सल्यान, २६ असोज । सल्यानको छत्रेश्वरी गाउँपालिका, ५ ले आफ्नै […]
सल्यान, असोज २६ ।
छ दशक लामो दुःख र संघर्षले भरिएको सल्यानको एक दर्गम गाउँ सल्यानथरी । कालिमाटी गाउँपालिका, ७ सल्यानथरीका १७ घरपरिवारमा अहिले घरकै धाराबाट पानी झर्छ । कुनै समय पानी लिन घण्टौँ हिँड्नुपर्ने, डोकोमा पानी बोकेर गुजारा चलाउनुपर्ने र खानेपानीको अभावकै कारण गाउँ छाड्नुपर्ने बाध्यता भोगेका यहाँका बासिन्दाका लागि आफ्नै आँगणको धारामा पानी झर्नु सामान्य कुरा होइन । बस्तीबाट करिब चार किलोमिटर टाढाको मुहानबाट चट्टान र भिर छिचोल्दै पानी ल्याइएपछि सल्यानथरीका बासिन्दाले झन्डै छ दशकदेखि भोग्दै आएको खानेपानीको समस्या अन्त्य भएको हो ।
यो विकट बस्तीमा खानेपानी पु¥याउनु सामान्य काम थिएन । बस्ती र पानीको मुहानबीचको दूरी, बीचमा रहेका कडा चट्टान, भिरालो भूगोल र कठिन भौगोलिक अवस्थाका कारण यहाँ खानेपानी ल्याउने कल्पना गर्नसमेत स्थानीयलाई मुस्किल थियो । वर्षौँदेखि विभिन्न निकायबाट खानेपानी सुविधा पु¥याउने आश्वासन पाए पनि त्यो पूरा हुन सकेको थिएन । निर्वाचनका बेला राजनीतिक दलका नेताहरूले समेत खानेपानीको विषयलाई आफ्नो प्रतिबद्धतामा समेट्थे । तर स्थानीयको दैनिकी भने पानीको खोजीमा समय खर्चिने र डोकोमा पानी बोकेर घर फर्किने नै थियो ।
अहिले भने त्यो बाध्यता हटेको छ । कालिमाटी गाउँपालिकाको १० लाख रुपियाँ अनुदान र स्थानीय उपभोक्ताको एक लाख रुपियाँ बराबरको जनश्रमदान गरी करिब ११ लाखको लागतमा खानेपानी योजना निर्माण गरिएको हो । चार किलोमिटर टाढाको मुहानबाट ल्याइएको पानी बस्तीका १७ वटै घरमा धारा निर्माण गरी वितरण गरिएको छ ।
वडा नम्बर ७ का अध्यक्ष मित्रलाल रिजालका अनुसार दुर्गम भूगोलका कारण योजना निर्माण चुनौतीपूर्ण थियो । यद्यपी स्थानीयको आवश्यकता र लामो समयदेखिको समस्यालाई प्राथमिकतामा राखेर काम अघि बढाइएपछि योजना सफल भएको हो । ‘मुहानसम्म पुग्नसमेत निकै कठिन छ । चट्टान र भिर भएको ठाउँबाट पानी ल्याउनु सजिलो थिएन । तर, स्थानीयको दुःखलाई ध्यानमा राख्दै योजना अघि बढायौँ,’ रिजालले भन्नुभयो, ‘गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदानबाट अहिले घरघरमा धारा पु¥याउन सफल भएका छौँ ।’
बस्तीमा करिब ३५ घरधुरी रहेकामा खानेपानी, विद्युत् र जंगली जनावरको त्रासलगायतका समस्याले धेरै परिवार बसाइँ सरेर अन्यत्र गएका छन् । अहिले गाउँमा रहेका १७ घरपरिवारका लागि घरमै पानी पुगेपछि सुविधा थपिएको मात्रै छैन, वर्षौँदेखिको सास्तीबाट मुक्ति पनि मिलेको छ । खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष नैनसिंह घर्तीका अनुसार गाउँमा पानी ल्याउन सकिन्छ भन्ने विश्वास समेत स्थानीयमा थिएन । दुर्गम भूगोल र कठिन बाटोका कारण पानी ल्याउने प्रयास सफल होला भन्नेमा उनीहरू ढुक्क हुन सकेका थिएनन् । तर यसपटक वडा अध्यक्षको तदारुकता, स्थानीय सरकारको लगानी र गाउँलेको श्रमदानका कारण योजना पूरा भएको र घरमै पानी आउँदा ठूलो राहत भएको घर्तीको भनाई छ ।
खडेरीले स्थानीयलाई थप समस्यामा पारेको असारको सुरुवाततिर वडा अध्यक्ष रिजाल आफैँ एक घण्टाभन्दा बढी समय हिँडेर बस्तीबाट करिब चार किलोमिटर टाढा रहेको मुहानसम्म पुग्नुभएको थियो । कठिन बाटो पार गर्दै मुहानमा पुग्दा पर्याप्त पानीको स्रोत देखेपछि उहाँले स्थानीयलाई पानी गाउँसम्म ल्याउन सकिने विश्वास दिलाउनुभयो । त्यसपछि योजना कार्यान्वयन गर्ने अठोटसहित स्थानीय र स्थानीय सरकारबीच सहकार्य अघि बढेको थियो ।
मुहानबाट बस्तीमा पानी पु¥याउन चट्टान र भिर भएका क्षेत्रमा पाइपलाइनलाई झुन्ड्याएर तथा उपलब्ध भूगोल अनुसारका उपाय अपनाएर पानी ल्याइएको छ । सामान्य पूर्वाधार निर्माणमा समेत कठिनाइ हुने यस्तो भूगोलमा खानेपानी योजना सम्पन्न हुनु स्थानीयका लागि ठूलो उपलब्धि बनेको छ ।
सल्यानथरीमा मोटरबाटो पुगे पनि विद्युत सुविधा भने अझै पुग्न सकेको छैन । वडा नम्बर ७ को घुइयाबारी आसपासका क्षेत्रमा लामो प्रतीक्षा र संघर्षपछि हालै मात्र विद्युत् पुगेकाले सल्यानथरीमा विद्युत विस्तार हुन अझै केही समय लाग्ने देखिएको छ । खानेपानीको समस्या समाधान भए पनि विद्युत् र अन्य आधारभूत सेवाको अभावले दुर्गम बस्तीको जीवन सहज हुन सकेको छैन । जंगली जनावरको त्रास, पूर्वाधारको कमी र आधारभूत सेवासम्मको कठिन पहुँचका कारण यसअघि नै धेरै परिवार गाउँ छाडेर गइसकेका छन् । अहिले रहेका परिवारले पनि सहज जीवनयापनका लागि अन्य पूर्वाधारको प्रतीक्षा गरिरहेका छन् ।
कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पु¥याउनु गाउँपालिकाको प्राथमिकता रहेको बताउनुभयो । निकै विकट मानिने कालिमाटीका हरेक वडामा खानेपानी, सडक लगाएत भौतिक पूर्वाधार विकास संगै कृषि, स्वास्थ्य, शिक्षा तथा मानविय विकासका धेरै कामहरु गरिएको उहाँको भनाई छ ।
सल्यानथरीका बासिन्दाहरु दशकौँदेखि आश्वासनमा सीमित रहेको खानेपानीको समस्या समाधान भएपछि अब विद्युत र अन्य आवश्यक पूर्वाधारको विकासले पनि गति लिने अपेक्षामा छन् ।
