स्क्रब टाइफसका संक्रमित ६४५ पुगे, एकैदिन थपिए ५५ जना

सल्यान, १९ असोज ।

सल्यानमा स्क्रब टाइफसको संक्रमण महिलामा बढी देखिएको छ । सोमबार मात्रै पुष्टि भएका ५५ संक्रमितमध्ये ४६ जना महिला छन् । यो संख्या कुल संक्रमितको करिब ८४ प्रतिशत हो ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार सोमबार दार्मा गाउँपालिका र बागचौर नगरपालिकामा गरिएको परीक्षणमा ४६ महिला र ९ पुरुषमा संक्रमण पुष्टि भएको हो । दार्माका सरकारी स्वास्थ्य संस्थामा ११४ जनाको परीक्षण गर्दा ५२ जना तथा बागचौरस्थित निजी स्वास्थ्य संस्थामा ६ जनाको परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक ताराप्रसाद रिजालले जानकारी दिनुभयो ।

बागचौरमा आइतबार ३ जना र शुक्रबार २२ जनामा समेत संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय संक्रमण बढ्दै गएपछि जिल्लाभर संक्रमितको संख्या करिब ६४५ पुगेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

स्क्रब टाइफसको जटिलताका कारण दार्मा गाउँपालिकामा ८ र छत्रेश्वरी गाउँपालिकामा १ गरी जिल्लामा ९ जनाको मृत्यु भइसकेको छ । जिल्लाका १० स्थानीय तहमध्ये ९ पालिकामा रोग फैलिएको छ ।

संक्रमणको अवस्था भयावह बन्दै गएपछि स्वास्थ्य सेवा विभागअन्तर्गत किटजन्य रोग नियन्त्रण महाशाखा काठमाडौं र प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतबाट विशेषज्ञ टोली सल्यान आएर अध्यन गरेको छ । टोलीले बढी संक्रमित भएका बस्तीमा पुगेर संक्रमणको कारण र फैलावटबारे स्थलगत अनुसन्धान गरेको बताइएको छ ।

टोलीले मृत्यु भएका व्यक्तिको घर वरिपरिको वातावरण, जंगली मुसा तथा स्क्रब टाइफस फैलाउने किर्नोको उपस्थिति, घरआसपासको सरसफाइ तथा संक्रमणको सम्भावित स्रोतबारे अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस