सल्यान, १० असोज । सल्यानमा निरन्तरको वर्षा एवं हुरी बताससँगै […]
शंकर केसी,
सल्यान, ११ असोज ।
सल्यानमा स्क्रब टाइफसका ३५५ संक्रमित भेटिएका छन् । जिल्लाका ६ स्थानीय तहमा फैलिएको संक्रमणमा पुरुषभन्दा महिलाको संख्या दोब्बरभन्दा बढी छ । कुल संक्रमितमध्ये २४४ जना महिला अर्थात् ६८.७३ प्रतिशत र १११ जना पुरुष अर्थात् ३१.२७ प्रतिशत छन् ।
संक्रमणको सबैभन्दा ठूलो चाप दार्मा गाउँपालिकामा देखिएको छ । त्यहाँ ५३२ जनाको परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको छ । स्क्रब टाइफसकै जटिलताका कारण जिल्लाभर मृत्यु भएका ८ जनाको मृत्यु पनि दार्मा गाउँपालिकामै भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । मृत्यु हुनेमा ७ पुरुष र १ महिला छन् ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार सरकारी स्वास्थ्य संस्थामा मात्रै १ हजार ७०९ जनाको स्क्रब टाइफस परीक्षण गर्दा २६९ जनामा संक्रमण पुष्टि भएको छ । सरकारी स्वास्थ्य संस्थामा परीक्षण गरिएका बिरामीमध्ये संक्रमण दर १५.७४ प्रतिशत रहेको जनस्वास्थ्य अधिकृत तारा रिजालले जानकारी दिनुभयो ।
निजी स्वास्थ्य संस्थातर्फ बागचौर नगरपालिकाको तथ्यांक मात्रै संकलन भएको छ । बागचौरका निजी स्वास्थ्य संस्थामा ३३१ जनाको परीक्षण गर्दा ८६ जनामा संक्रमण पुष्टि भएको छ । सरकारी र निजी क्षेत्रको उपलब्ध तथ्यांक जोड्दा संक्रमितको संख्या ३५५ पुगेको हो ।
स्थानीय तहगत तथ्यांक अनुसार बागचौर नगरपालिकामा सरकारी तथा निजी क्षेत्रको तथ्यांक गरी १६४ जना संक्रमित भएका छन् । कुमाख गाउँपालिकामा २२ जना, बनगाड कुपिण्डे नगरपालिकामा परीक्षण गरिएका ७ जनामै संक्रमण पुष्टि भएको छ भने कालीमाटी गाउँपालिकामा २ जनामा संक्रमण देखिएको छ ।
छत्रेश्वरी गाउँपालिकामा पनि स्क्रब टाइफस संक्रमण भेटिएको जानकारी सम्बन्धित स्वास्थ्य संस्थाबाट आएको छ । तर विस्तृत तथ्यांकका लागि सम्पर्क हुन नसकेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कपुरकोट र त्रिवेणीबाट पनि हालसम्म यकिन तथ्यांक प्राप्त हुन नसकेको कार्यालयको भनाइ छ । सिद्धकुमाख र शारदा नगरपालिकामा भने संक्रमण नदेखिएको रिपोर्ट छ ।
संक्रमणको जानकारी पाएपछि स्वास्थ्य सेवा कार्यालयले सम्बन्धित स्थानीय तह, प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य समूह परिचालन गरेको थियो । कार्यालयका अनुसार संक्रमण देखिएका क्षेत्रमा परीक्षण, उपचार तथा निगरानीको काम भइरहेको छ ।
महिलामा संक्रमणको संख्या बढी देखिनुको कारण उनीहरूको घाँस, दाउरा, कृषि कार्य तथा पशुपालनमा बढी प्रत्यक्ष संलग्नता हुनसक्ने स्वास्थ्यकर्मीहरूको अनुमान छ ।
स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा. प्रतिभा विकबाट प्रमाणित विवरण अनुसार जिल्लामा उपलब्ध तथ्यांकले दार्मा गाउँपालिका संक्रमण र मृत्यु दुवै हिसाबले सबैभन्दा बढी प्रभावित क्षेत्र देखाएको छ ।
