खानेपानी वितरणमा प्रविधिको उच्चतम प्रयोग गरिने

सल्यान, ९ असोज ।

खलंगा–शीतलपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभामा संस्थाको संगठनात्मक तथा आर्थिक प्रतिवेदन छलफलसहित पारित गरिएको छ ।

साधारण सभाको उद्घाटन गर्दै शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले विपन्न नागरिकलाई प्राथमिकतामा राखेर नगरका कार्यक्रम अघि बढाइएको बताए । उनले राजनीतिको माध्यमबाट नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आफू सक्रिय रहेको बताए ।

नगरप्रमुख भण्डारीले विपन्न नागरिकका घरको बीमा, नगर बस सञ्चालन, सामुदायिक विद्यालयको सुधार तथा विपन्न नागरिकलाई विद्युत् महसुलमा छुटलगायतका कार्यक्रमलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । खानेपानीको क्षेत्रमा पनि नगरपालिकाले महत्वपूर्ण काम गर्दै आएको उनको भनाइ थियो ।

राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले खानेपानीमा सरकारले लगाउने करका विरुद्ध उपभोक्ताले आन्दोलन गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए । विगतमा खानेपानीको पहुँच विस्तारका लागि काम गर्दै आएका उपभोक्ता संस्थाहरू अहिले खानेपानीको स्वच्छता र गुणस्तरतर्फ केन्द्रित हुनुपर्ने उनले बताए ।

सरकारप्रति नागरिकको ठूलो अपेक्षा रहे पनि भौगोलिक अवस्था नबुझी योजनाहरू निर्माण गर्दा उपभोक्ताले समस्या भोग्नुपर्ने वलीको भनाइ थियो । स्थानीय आवश्यकता र भौगोलिक अवस्थालाई आधार बनाएर खानेपानीका योजना सञ्चालन गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा शारदा नगरपालिका–१२ का वडाध्यक्ष सुरेन्द्र बुढा, नेकपा एमालेका नगर संयोजक मोहनलाल बुढाथोकी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता महेन्द्र गुरुङले शुभकामना मन्तव्य दिएका थिए ।

संस्थाका अध्यक्ष केशव बुढाथोकीले एक दिन पानी आपूर्ति अवरुद्ध हुँदा समेत उपभोक्ताको गुनासो सुन्नुपर्ने भए पनि नियमित रूपमा घरघरमा पानी पुर्‍याउन संस्थाले ठूलो मेहनत गर्दै आएको बताए । तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनासमेत सञ्चालनमा रहेको संस्थाले विभिन्न समयमा उत्कृष्ट संस्थाका रूपमा सम्मान पाउनु गौरवको विषय भएको उनले बताए ।

खानेपानी वितरणमा प्रविधिको उच्चतम प्रयोग गर्दै सेवा प्रभावकारी बनाउने प्रयास भइरहेको अध्यक्ष बुढाथोकीले बताए ।

उद्घाटन कार्यक्रममा संस्थाका उपाध्यक्ष मौसमदास श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने सहसचिव इन्द्रा भण्डारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

उद्घाटनपछिको बन्द सत्रमा सचिव सुधन श्रेष्ठले प्रस्तुत गरेको संगठनात्मक तथा कोषाध्यक्ष दिपा श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफलसहित पारित गरिएको छ । संस्थाले चालु आर्थिक वर्षका लागि विभिन्न शीर्षकमा २ करोड ७१ लाख १७ हजार ५ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस