सल्यान, ४ असोज । सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर २ […]
सल्यान, ५ असोज ।
भौगोलिक विकटता र चेतनाको अभावका कारण आँखाको समस्या बोकेर बस्दै आएका सल्यानका नागरिकले आफ्नै पालिकामा विशेषज्ञ सेवा पाएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं ६, भोटेचौरस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा सञ्चालित निःशुल्क वृहत आँखा शिविरमा ५ वर्षका बालबालिकादेखि ९० वर्षका ज्येष्ठ नागरिकसम्मले आँखा उपचार सेवा पाएका हुन् । शिविरमा ३४५ जनाले आँखाको परीक्षण तथा उपचार सेवा पाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले जानकारी दिनुभयो ।
छत्रेश्वरी गाउँपालिकाको समन्वय तथा हातेमालो नेपालगंज, रोटरि क्लब अफ धुलिखेल, रोटरि क्लब अष्ट्रेलिया र अष्ट्रेलियन दृष्टि विज्ञहरूको संयुक्त सहकार्यमा सञ्चालित शिविरमा पुरुषको तुलनामा महिलाहरूको सहभागिता उल्लेख्य रहेको थियो । सेवा लिनेमा २१९ महिला र १२६ पुरुष रहेका छन् ।
परीक्षणका क्रममा दृष्टि कमजोर भएका २०९ जना नागरिकलाई तत्कालै निःशुल्क दृष्टि चस्मा वितरण गरिएको छ । यस्तै, आँखामा गम्भीर समस्या देखिएका मोतिबिन्दुका ५ जना बिरामीलाई थप र प्रभावकारी शल्यक्रियाका लागि सम्बन्धित अस्पतालमा रिफर गरिएको डाँगीले जानकारी दिनुभयो ।
दुर्गमका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने नीति अनुरूप शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले बताउनुभयो । “गाउँघरमा आर्थिक अभाव र पहुँचको कमीले गर्दा धेरै नागरिकहरू आँखाको समस्या झेल्न बाध्य हुनुन्छ,” अध्यक्ष बुढाथोकीले भन्नुभयो, “अन्तर्राष्ट्रियस्तरका विशेषज्ञ टोलीलाई गाउँमै ल्याएर सेवा दिन पाउँदा नागरिकको जीवनमा प्रत्यक्ष राहत मिलेको हामिले पाएका छौं।”
शिविरमा खटिएका अष्ट्रेलियन दृष्टि विशेषज्ञ तथा स्वदेशी स्वास्थ्यकर्मीको टोलीलाई गाउँपालिकाको तर्फबाट विशेष स्वागत तथा धन्यवाद ज्ञापन गरिएको थियो ।
