गंगादेवका वृद्धलाई बाफुखोलाले बगाउँदा मृत्यु, अर्का एकजना घाइते

सल्यान, भदौ ८ – सल्यानको बाफुखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ११ स्थित बाफुखोला तर्ने क्रममा सोमबार साँझ दुई जनालाई खोलाले बगाएको हो ।

खोलाले बगाउँदा रोल्पाको गंगादेव गाउँपालिका, ४ निवासी ७२ वर्षीय देउरुप डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उहाँलाई बगेको स्थानबाट करिब ५०० मिटर तल मृत अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो । यस्तै बागचौर नगरपालिका, ११ कुकुरगारे निवासी ४७ वर्षीय भीमबहादुर वलीलाई पनि खोलाले बगाएको थियो । उहाँलाई करिब ५० मिटर तल अचेत अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । गम्भीर अवस्थामा रहनुभएका भीमबहादुरको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कामको सिलसिलामा पानीचौर पुग्नुभएका उहाँहरू फर्किने क्रममा साँझ करिब ७ बजे बाफुखोला तर्ने प्रयास गर्दा खोलाले बगाएको प्रहरीले जनाएको छ । घटनाबारे साँझ करिब ८ बजे स्थानीयले प्रहरीलाइ जानकारी गराएका थिए । त्यसपछि बाफुखोला प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस