पाठ्यपुस्तकसँगै संस्कृतिको पाठ, कालिका माविमा लाखे नाच

सल्यान, ३ भदौ । कक्षाकोठामा पाठ्यपुस्तकका पाना पल्टाइरहेका विद्यार्थीले मंगलबार भने आफ्नै मौलिक संस्कृति र परम्परालाई प्रत्येक्ष रुपमा हेर्ने र नजिकबाट बुझ्ने अवसर प्राप्त गरे । त्यो पनि आफ्नै बिद्यालयको प्राङ्गणमा । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ स्थित कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा कपुरकोट लाखे नाच समूहले लाखे नाच प्रदर्शन गरेपछि विद्यालय परिसर सांस्कृतिक माहोलले भरिएको थियो ।

विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीय अभिभावकले प्रत्यक्ष रूपमा लाखे नाच अवलोकन गरे । भिभिन्न भुमिकामा बाजागाजाको तालसहित प्रस्तुत गरिएको लाखे नाचले विद्यार्थीलाई किताबमा पढेको स्थानीय कला र संस्कृतिलाई व्यवहारमै बुझ्ने अवसर दिएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधुसुधन गिरीका अनुसार स्थानीय पाठ्यक्रममा समेत स्थानीय कला, संस्कृति र परम्परासम्बन्धी विषय समावेश भएकाले विद्यालयमै लाखे नाचको प्रत्यक्ष प्रस्तुति हुँदा विद्यार्थीलाई बुझ्न झन सहज भएको हो । किताबमा पढेर मात्र भन्दा आफ्नै आँखा अघि मौलिक संस्कृति प्रस्तुत हुँदा विद्यार्थीले त्यसको पृष्ठभूमि, महत्व र निरन्तरताबारे धेरै कुरा बुझ्ने अवसर पाएको उहाँले बताउनुभयो । “स्थानीय पाठ्यक्रममा समेटिएका विषयलाई व्यवहारिक रूपमा सिकाउने उद्देश्यले पनि विद्यालयमा लाखे नाच प्रदर्शन गरिएको हो,” गिरीले भन्नुभयो, “विद्यार्थीले पुस्तकमा पढेको संस्कृति आफ्नै अगाडि देख्न पाउँदा त्यसबारेको बुझाइ अझ प्रभावकारी हुन्छ । यसले नयाँ पुस्तालाई आफ्नो मौलिक कला र संस्कृतिसँग जोड्न पनि सहयोग गर्छ ।”

लाखे नाच कपुरकोटको सांस्कृतिक पहिचानसँग जोडिएको पुरानो परम्परा हो । कपुरकोटमा विक्रम संवत् १९९४ देखि लाखे नाच निरन्तर सञ्चालन हुँदै आएको स्थानीय अगुवाहरू बताउँछन् । नागपञ्चमीको दिनदेखि लाखे नाच सुरु गर्ने र श्रीकृष्ण जन्माष्टमीको पर्सिपल्ट लाखे ‘मार्ने’ अर्थात विसर्जन गर्ने यहाँको परम्परा रहेको छ ।

कपुरकोट लाखे नाचका अगुवा तथा कपुरकोट गाउँपालिका, ३ का वडाध्यक्ष प्रदीप खड्काले पुस्तौँदेखि चलि आएको यो परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले विभिन्न गतिविधि हुँदै आएको बताउनुहुन्छ । लाखे नाच समूहले संस्कृति संरक्षणसँगै सामाजिक काममा समेत योगदान गर्दै आएको खड्काले बताउनुभयो । उहाँका अनुसार समूहको तर्फबाट कालिका माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाका लागि ५१ हजार १ सय ५१ रुपियाँ हस्तान्तरण गरिएको छ । “लाखे नाच हाम्रो सांस्कृतिक पहिचान हो । यसलाई नाचमा मात्र सीमित नराखी सामाजिक कामसँग पनि जोड्ने प्रयास गरेका छौँ,” खड्काले भन्नुभयो, “यसअघि पनि सार्वजनिक प्रतीक्षालय निर्माण तथा विभिन्न मठमन्दिरमा सहयोग गरेका छौँ । अहिले विद्यालयमा अक्षयकोष स्थापनाका लागि सहयोग गरेका हौँ ।”

स्थानीय परम्परा संरक्षणका लागि सक्रिय रहेको समूहले विद्यालयमार्फत नयाँ पुस्तालाई संस्कृति चिनाउने र त्यसको महत्व बुझाउने प्रयास गरेको हो । आधुनिक जीवनशैली र प्रविधिको बढ्दो प्रभावसँगै मौलिक कला तथा परम्परासँग नयाँ पुस्ताको दूरी बढ्दै गएका बेला विद्यालयमै लाखे नाच प्रदर्शन गरिएको हो । बिद्यालयले अक्षयकोषलाई प्रभावकारी रुपमा सञ्चालन गरेर हरेक बर्ष विपन्न तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस