सल्यान, २८ साउन –कपुरकोट गाउँपालिका–३ स्थित प्रहरी चौकीको जीर्ण भान्सा […]
सल्यान, साउन २८ ।
कृषकहरूलाई बीमाको दायरामा ल्याउने अभियान अन्तर्गत सल्यानको त्रिवेणीमा सचेतता तथा अन्तरक्रिया गरिएको छ । त्रिवेणि, ५ मा विहिबार कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल गरिएको हो । कार्यक्रममा नेपाल सरकारले कृषकलाई उपलब्ध गराउँदै आएको बीमा शुल्कमा ८० प्रतिशत अनुदानको व्यवस्था यथावत् रहेको उल्लेख गर्दै कृषकहरूले यस अवसरको अधिकतम लाभ लिनुपर्नेमा जोड दिइएको थियो ।
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सल्यान शाखाले ४३ जना भन्दा बढी कृषकलाई जोखिम व्यवस्थापन तथा आर्थिक सुरक्षाको माध्यमका रूपमा बीमाको महत्व बुझाउँदै अधिकतम कृषकलाई बीमाको पहुँचमा ल्याउनका लागि यस्तो कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा एनएलजी इन्स्योरेन्स सल्यान शाखाका प्रमुख अनुराग बोहराले कम्पनीले विगत केही वर्षदेखि गाउँगाउँ तथा कृषकको घरदैलोमा पुगेर कृषि तथा पशुपन्छी बीमाबारे जानकारी दिने अभियान सञ्चालन गर्दै आएको र यसले सकारात्मक परिणाम दिन थालेको बताउनुभयो ।
उहाँले सरकारी अनुदानको सुविधासँगै कृषकलाई बीमाको दायरामा ल्याउन कम्पनी निरन्तर रूपमा खटिरहेको र आगामी दिनहरूमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
सो अवसरमा त्रिवेणी गाउँपालिका, ५ का वडा अध्यक्ष बिमल रावतले बीमा सम्बन्धी जानकारी तथा सचेतनालाई टोलटोलसम्म पुर्याई कृषकहरूलाई बीमाको महत्व बुझाउन आग्रह गर्नुभयो । उहाँले बीमा शुल्कमा प्रदान हुने अनुदानको लाभ लिन कृषकहरूलाई अनुरोध गर्दै प्राकृतिक विपत्ति, रोगव्याधि तथा अन्य विभिन्न जोखिमबाट हुने क्षतिको अवस्थामा बीमाले ठूलो राहत प्रदान गर्ने उल्लेख गर्नुभयो ।
कम्पनीले कृषि तथा पशुपन्छी बीमाका प्रावधान, दाबी प्रक्रिया, बीमाको आवश्यकता तथा यसको महत्वबारे विस्तृत जानकारी गराएको थियो । विशेषगरी पशुधन बीमालेख तथा कृषि बीमा अन्तर्गत खाद्यबाली बीमालेख, तरकारीबाली बीमालेख, फलफूल तथा अन्य कृषि उत्पादन सम्बन्धी बीमाका विषयमा छलफल गरिएको थियो । कृषकहरूले बीमा गर्दा अपनाउनुपर्ने प्रक्रिया, आवश्यक कागजात, बीमाबाट प्राप्त हुने लाभ तथा दाबी भुक्तानी प्रक्रियाका बारेमा समेत जानकारी दिइएको एनएलजी इन्स्योरेन्स सल्यान शाखाका प्रमुख बोहराले जानकारी दिनुभयो ।
बीमालेख जारी तथा दाबी भुक्तानी एएलआइएस प्रणालीबाट मात्र हुने व्यवस्था रहेको र यस प्रणालीले बीमा प्रक्रियालाई थप पारदर्शी, सरल तथा प्रभावकारी बनाएको बताइएको छ ।
सो अवसरमा कार्यपालिका सदस्य रत्नकुमारी बोहरा, वडा सदस्यहरू धर्मबहादुर घर्ती, गौरी बि.क., लिलामणि गिरी, सूर्यज्योति लाइफ इन्स्योरेन्सका सल्यान शाखा प्रबन्धक भरत रोकाय, वडा सचिव देवराज बिक, टेकमाइन्ड नेटवर्कका कर्णाली प्रदेश प्रमुख संगम बिहानी, सामाजिक अभियन्ता ज्ञानेन्द्र पुन र टोल विकास संस्थाका अध्यक्ष टेकबहादुर बोहरा लगायतको उपस्थिति थियो ।
