चोरी भएका बिद्यालय र वडाको सामग्री फेला, तीनजना किशोर पक्राउ

सल्यान, २६ साउन- सल्यानमा वडा कार्यालय र विद्यालयका सामान चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं, ४ को वडा कार्यालय तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विभिन्न सामग्री चोरी गरी लुकाइछिपाइ राखेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली, स्थानीय जनप्रतिनिधि, नेरा माविका शिक्षक तथा स्थानीय व्यक्तिहरूको संयुक्त टोलीले सोमबार विभिन्न स्थानमा खोजी गर्ने क्रममा वडा कार्यालय र विद्यालयका सामग्री बरामद गरेको हो ।

खोजीका क्रममा नेरा माविका २ वटा ल्यापटप, ७ वटा कम्प्युटर, ईहाजिरीको सेट, सीसी क्यामेराको सेट तथा विज्ञान प्रयोगशालाका विभिन्न सामग्री फेला परेको वडा अध्यक्ष तथा त्रिवेणि गाउँपालिकाका प्रवक्ता छविराज शर्माले जानकारी दिनुभयो । ती सामग्री विभिन्न स्थानमा लुकाएर राखिएको अवस्थामा फेला परेका थिए । केही सामग्री व्यक्तिको घरमा समेत राखिएको अवस्थामा बरामद गरिएको बताइएको छ ।

विद्यालयका केही सामग्री श्रीनगरस्थित एक पसलमा बिक्री गरिएको समेत बुझिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा त्रिवेणी गाउँपालिका–४ फलाबाङका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरु एक जना १८ वर्षीय र दुई जना १५ वर्षीय बालक रहेको प्रहरीले जनाएको छ । बरामद भएका सामग्रीको विवरण संकलन गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस