सल्यान, २४ साउन । सल्यान लगाएत विभिन्न पहाडी जिल्लाहरुमा किसानहरुले […]
सल्यान, २५ साउन- वर्षायाममा खोलाले मुहानमा फोहोर थुपारिदिन्थ्यो । ठाउँठाउँमा फुटेका पाईप, जसोतसो ट्यांकीमा पानी पुगे पनि घरघरमा धारा थिएन । वर्षौँअघि बनेको ट्यांकी र जीर्ण पाइपलाइनकै भरमा खानेपानीको जोहो गर्दै आएका सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं, ५ ढोरेनीका स्थानीय दूषित पानीका कारण पटकपटक बिरामी पर्ने समस्या भोग्दै आएका थिए । अब भने उनीहरूको त्यो बाध्यता हटेको छ ।
खानेपानी आयोजनाको सुदृढीकरणपछि शुद्धीकरण गरिएको पानी घरघरका धारामा आउन थालेपछि ढोरेनीवासीले पञ्चेबाजा बजाउँदै नाचगान गरेर खुसी मनाएका छन् । सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) परियोजना अन्तर्गत ढोरेनीमा एक घर, एक धारा निर्माण गरिएको हो । वर्षाैँदेखिको पानीको समस्या हटेको भन्दै स्थानीय दल बहादुर बुढाले खुसी व्यक्त गर्नुभयो ।
आयोजनामार्फत २४ घरधुरी र एक विद्यालयमा नियमित खानेपानीको सुविधा पुगेको हो । शुद्धीकरण गरिएको पानी घरका धारासम्म पुग्ने भएपछि स्थानीय सुरक्षित खानेपानी पाउनेमा ढुक्क भएका छन् । खानेपानी आयोजना सञ्चालनमा आएको खुसीमा स्थानीयले शनिबार उद्घाटन समारोहलाई उत्सवकै रूपमा मनाए । महिलाहरुको टप्पा नाचसँगै आमा समूह, बाल क्लब तथा उपभोक्ताहरूले विभिन्न झाँकी प्रस्तुत गरेको र पञ्चेबाजाको तालमा नाचगानसमेत भएको कार्यपालिका सदस्य तीला घर्तीले जानकारी दिनुभयो ।
आयोजना निर्माणका लागि नेपाल सरकार र फिनल्यान्ड सरकारको सहयोग, गाउँपालिकाको अनुदान १६ लाख ६४ हजार ५०७ रुपियाँ, उपभोक्ताको नगद ९८ हजार १४६ र श्रमदानबापत चार लाख १३ हजार ४६१ गरेर जम्मा २१ लाख ७६ हजार १११ रुपियाँ लगानी रहेको छत्रेश्वरी गाउँपालिकाका वास संयोजक दिपेन्द्र शाहीले जानकारी दिनुभयो ।
आयोजनाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले शुद्धीकरण गरिएको पानी घरमै आउनेभएपछि स्वास्थ्य तथा सरसफाइमा समेत सुधार आउने अपेक्षा राख्नुभयो । सो अवसरमा गाउँपालिका उपाध्यक्ष बुद्धकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकी, आयोजना सहयोग इकाइका डिपुटी टिम लिडर मानबहादुर विक, वास सल्लाहकार गुम्म नेपाली, वडा नं. ५ का कार्यवाहक वडाध्यक्ष टंक वली, कार्यपालिका सदस्य तिला बुढा, उपभोक्ता लगाएतको सहभागिता थियो ।
खानेपानीको दिगोपना, नियमित मर्मतसम्भार तथा गाउँटोलमा सरसफाईका गतिविधिलाई पनि निरन्तरता दिइने ढोरेनी खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाका अध्यक्ष डिल्लीबहादुर बुढाले बताउनुभयो ।
