सल्यानको कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा साउन २२ गते […]
सल्यान, साउन २२ ।
कर्णाली प्रदेश सरकारले गठन गरेको विशेष कार्यदलले लामो समयदेखि वर्षा नहुँदा सुख्खाग्रस्त बनेको सल्यानको पश्चिमी क्षेत्र र सुर्खेतको सिम्ता गाउँपालिकाका प्रभावित क्षेत्रहरूमा शुक्रबारदेखि स्थलगत अवलोकन तथा अध्ययन सुरु गरेको छ । सल्यानको वनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्ता गाउँपालिकामा खडेरीका कारण कृषि उत्पादन, खानेपानी तथा सर्वसाधारणको दैनिकीमा परेको असरको वास्तविक स्थिति बुझ्न टोलीले प्रभावित क्षेत्रमा पुगेर प्रत्यक्ष अनुगमन थालेको हो ।
अनुगमन टोलीमा सल्यानबाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्व कर्णाली प्रदेश सरकारका मन्त्री भीमप्रकाश शर्मासहित प्रदेश सरकारका प्रतिनिधि, कृषि विज्ञ तथा प्राविधिकहरूको सहभागिता रहेको छ । टोलीले खडेरी प्रभावित खेतबारी, सुकेका पानीका मुहान तथा समस्याग्रस्त बस्तीहरूमा पुगेर किसान तथा स्थानीय बासिन्दासँग प्रत्यक्ष कुराकानी गर्दै आवश्यक विवरण संकलन गरिरहेको छ ।
स्थानीयस्तरमा पुगेको टोलीसमक्ष किसानहरूले समयमा पानी नपर्दा धान, मकै, तरकारी लगायतका बालीनालीमा निकै ठूलो असर परेको बताएका छन् ।
अनुगमन टोलीले तयार पार्ने प्रतिवेदनका आधारमा प्रदेश सरकारमार्फत तत्कालका लागि राहत, बीउबिजन तथा खाद्य सहायता र दीर्घकालका लागि सिँचाइ तथा खानेपानी आयोजना सञ्चालनको अपेक्षा गरिएको छ ।
कार्यदलले दुवै जिल्लाका प्रभावित वडा तथा बस्तीहरूबाट प्राप्त तथ्यांक र किसानका समस्याहरूलाई समेटेर कर्णाली प्रदेश सरकारलाई छिट्टै विस्तृत प्रतिवेदन बुझाउने जनाएको छ ।
