कैलालीको कुइनेमा दुई गाडी ठोक्किँदा सात जना घाइते

कैलाली २१ श्रावण २०८३

कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेस्थित चिसापानी–कुइने कच्ची सडकखण्डमा दुई यात्रुवाहक सवारीसाधन एकआपसमा ठोक्किँदा सात जना यात्रु घाइते भएका छन्।

​लम्कीबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८९२ नम्बरको फोर्स गाडी र सोल्टाबाट चिसापानीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१६८ नम्बरको बस एकआपसमा जुध्न पुग्दा सो दुर्घटना भएको हो।

​दुर्घटनामा फोर्स गाडीमा सवार १४ जना यात्रुमध्ये सात जना घाइते भएका छन् भने बसमा सवार २७ जना यात्रु सकुशल रहेका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि लम्कीतर्फ पठाइएको छ।

​घाइतेहरूको नामावली:

  • लक्ष्मी शाही (५० वर्ष) – लम्कीचुहा नगरपालिका–१, कैलाली
  • कृष्णा देवी टमटा (५३ वर्ष) – लम्कीचुहा नगरपालिका–५, कैलाली
  • बासु देवी टमटा (५५ वर्ष) – लम्कीचुहा नगरपालिका–५, कैलाली
  • प्रवे बिष्ट (४८ वर्ष) – नरहरिनाथ गाउँपालिका–८, कालिकोट
  • बिना शाही (२१ वर्ष) – आठबिसकोट नगरपालिका–७, रुकुम पश्चिम
  • लविश चन्द (१ वर्ष, बिना शाहीका छोरा) – आठबिसकोट नगरपालिका–७, रुकुम पश्चिम
  • निर्मला सञ्ज्याल (२१ वर्ष) – पञ्चदेवल विनायक नगरपालिका–८, अछाम

​दुर्घटनापछि दुवै सवारीसाधनको अगाडिको भागमा क्षति पुगेको भए तापनि दुवै गाडी चल्न सक्ने अवस्थामै रहेका छन्। हाल उक्त सडकखण्डमा सवारी आवागमन सामान्य रूपमा सञ्चालन भइरहेको छ। प्रहरीले दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस