आफ्नै डेरामा शिक्षक मृत फेला

सल्यान, साउन २१ ।

सल्यानमा एकजना शिक्षक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बागचौर नगरपालिका, ६ स्थित सरस्वती माध्यमिक विद्यालयका शिक्षक ४८ वर्षीय हरिबहादुर वली आफ्नै डेराको कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

बागचौर नगरपालिका वडा नं, ७ कोदालचौर घर भएका उनी बागचौर, ६ ठुलाहिममा डेरा गरी बस्दै आएका थिए । प्रहरीका अनुसार मंगलबार राति खाना खाएर सुतेका वली बुधबार बिहान नउठेपछि करिब ७ बजे घरबेटी कमला वलीले उठाउन जाँदा उनी अचेत अवस्थामा रहेको देखिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सिमखोलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेर जाँच गर्दा वलीको मृत्यु भइसकेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक इश्वर रोकायले जानकारी दिए ।

घटनाको प्रकृति र मृत्युको कारणबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी निरीक्षक यामबहादुर मल्लको नेतृत्वमा अपराध अनुसन्धान टोली समेत घटनास्थल पुगेको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि बुधबार नै जिल्ला अस्पताल सल्यान पठाइएको प्रहरीले जनाएको छ ।

मृतकका परिवार दाङको तुलसीपुरमा बसोबास गर्दै आएका छन् । प्रहरीका अनुसार मृत्युको यकिन कारण पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्नेछ र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस