साढे १६ हजारको विवरण दर्ता, २७०० ले मात्र कार्ड

 

सल्यान, १५ साउन ।

एक बर्षको अवधिमा सल्यानबाट चार हजार ३८१ वटा राहदानी वितरण गरिएको छ । भर्खरै सकिएको आर्थिक वर्ष २०८२/०८३ मा जिल्ला प्रशासन कार्यालयबाट चार हजार ९०४ जनाले राहदानीका लागि आवेदन दिएकोमा चार हजार ३८१ जनाले राहदानी प्राप्त गरिसकेका छन् ।

यस्तै सरकारले अनिवार्य गर्दै लगेको राष्ट्रिय परिचयपत्रका लागि सोही अवधिमा १६ हजार ८४१ जनाले विवरण दर्ता गराएका छन् । तर एक बर्षको अवधिमा दुई हजार ७०० जनाले मात्रै भौतिक परिचयपत्रको कार्ड प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।

नागरिकता सेवातर्फ भने सो अवधिमा १७ हजार ५०० भन्दा बढीले नयाँ नागरिकता तथा नागरिकताको प्रतिलिपि लिएका छन् । कार्यालयले आठ हजार ५२९ जनालाई नयाँ नागरिकता जारी गरेको छ भने आठ हजार ९८६ जनालाई प्रतिलिपि उपलब्ध गराएको कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत आनन्द विष्टले जानकारी दिनुभयो । कार्यालयको तथ्यांक अनुसार नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपि लिनेको संख्या ४५७ ले बढी छ । विशेषगरी राष्ट्रिय परिचयपत्र बनाउने क्रममा पुराना, झुत्रा, मेटिएका तथा स्टिकर नभएका नागरिकता स्वीकार नगर्ने भएकाले र नागरिकता हराउने, जीर्ण हुने वा विवरण सच्याउनुपर्ने अवस्थाका कारण प्रतिलिपि लिनेको संख्या बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रिय परिचयपत्रको दायरा विस्तार हुँदै जाँदा नागरिकता प्रतिलिपि लिनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

यसै अवधिमा कार्यालयले एक हजार ४०९ वटा पुराना नागरिकता डिजिटाइजेशन समेत गरेको छ । विशेषगरी नागरिक एपमा लिङ्ग नदेखिने प्राविधिक समस्या आएपछि सेवाग्राहीहरू नागरिकता डिजिटाइजेशनका लागि कार्यालय आउने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस