शंकर केसी, सल्यान, १२ साउन । देशकै ठूला तरकारी बजारहरु […]
सल्यान, १४ साउन ।
नयाँ पक्की भवनसँगै सल्यान छत्रेश्वरीको सरस्वती आधारभूत विद्यालयमा सुरक्षित र सहज सिकाइको आधार तयार भएको छ । यसअघि कक्षाकोठा अभाव तथा भौतिक पूर्वाधारको सीमितताका कारण शैक्षिक गतिविधि सञ्चालनमा समस्या हुँदै आएको छत्रेश्वरी, ५ स्थित सरस्वती आवि लेखसिरुवालीमा नयाँ भवन निर्माण संगै पठनपाठनमा सहजता हुनेभएको हो ।
नवनिर्मित दुई कोठे विद्यालय भवनको विहिबार उद्घाटन गरिएको हो । नयाँ भवन सञ्चालनमा आएसँगै विद्यार्थीहरूले सुरक्षित, व्यवस्थित र सहज वातावरणमा पठनपाठन गर्न पाउने भएका हुन । सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले विद्यालयको भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आएको जनाउँदै यस्ता पूर्वाधार निर्माणले ग्रामीण क्षेत्रका बालबालिकालाई गुणस्तरीय शिक्षा पहुँचमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्धकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकी, कार्यक्रममा छत्रेश्वरी गाउँपालिका–५ का वडा अध्यक्ष फौदबहादुर बस्नेत लगायतले बोल्दै शिक्षा क्षेत्रको विकासमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिनुभएको थियो । फराकिलो र सुरक्षित कक्षाकोठाले विद्यार्थीको नियमित उपस्थितिसँगै सिकाइ उपलब्धि सुधार गर्न पनि टेवा पुग्ने वक्ताहरुको विश्वास थियो ।
सो अवसरमा कार्यपालिका सदस्य तिला घर्ती, वडा सदस्य टंकबहादुर वली, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।
