देशकै प्रमुख बजारहरुमध्ये कपुरकोट तरकारी बजारमा यस्तो छ मंगलबारको मूल्य

शंकर केसी,
सल्यान, १२ साउन ।

देशकै ठूला तरकारी बजारहरु मध्ये पर्ने सल्यान स्थित कपुरकोट तरकारी हाटबजारमा आज साउन १२ गते मंगलबार किसानहरुले आफ्नो कृषिजन्य वेमौसमी उत्पादन बिक्रीवितरण गरेका छन् ।

कृषि उपज बजार केन्द्रले सार्वजनिक गरेको थोक मुल्यसुची अनुसार किसानहरुले विभिन्न तरकारी तथा कृषि उत्पादन न्युनतम २० रुपैया प्रतिकिलो देखि अधिकतम २०० रुपैयासम्म विक्री गरेका हुन्

मंगलबार किसानहरुले टमाटर न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ४२ रुपैयाँ प्रति केजीमा बिक्री गरेका छन् भने बन्दागोभी २८ देखि ३६ रुपैयाँ र फूलगोभी ६० देखि ७७ रुपैयाँ प्रति केजी विक्री गरेका हुन् ।

खुर्सानीतर्फ भेडे खुर्सानी ५० देखि ६५ रुपैयाँ, मोटो खुर्सानी ४५ देखि ५० रुपैयाँ, मसिनो खुर्सानी ४५ देखि ५५ रुपैयाँ, अकबरे खुर्सानी ७५ देखि ८० रुपैयाँ र माछे खुर्सानी ४० देखि ५० रुपैयाँ प्रति केजीमा बिक्री भएको हो ।

त्यसैगरी सिमी प्रति केजी १०० देखि १३० रुपैयाँ, काँक्रो लोकल ४० देखि ४५ रुपैयाँ, काँक्रो उन्नत २० देखि २५ रुपैयाँ, मुला अधिकतम ३० रुपैयाँ, अदुवा १२० देखि १४० रुपैयाँ र साग अधिकतम ५० रुपैयाँ प्रति केजीमा विक्री भएको हो ।

अन्य उपजहरूमा टमाटर बीएसएस ३० देखि ३६ रुपैयाँ, धनियाँ अधिकतम २०० रुपैयाँ, नास्पती २२ देखि २५ रुपैयाँ र भान्टा अधिकतम ५० रुपैयाँ प्रति केजीमा कारोबार भएको बजार केन्द्रले जनाएको छ ।

कपुरकोट क्षेत्रका अधिकांश किसान व्यवसायीक तरकारी खेतिमा संलग्न छन् । कपुरकोट बजार स्थित कृषि उपज बजार केन्द्रमा हप्ताको मंगलबार र शुक्रबार तरकारी बजार लाग्ने गरेको बजार संचालक समितिका अध्यक्ष तिलक शर्माले जानकारी दिनुभयो । कपुरकोट गाउँपालिकाका विभिन्न वडामा रहेका सहायक बजारहरुमा पनि अन्य दिनमा तरकारी संगलन हुनेगरेको छ ।

कपुरकोट हाटबजारमा दाङ, बुटवल, भैरहवा, नेपालगञ्ज, धनगढी लगायत विभिन्न सहरबाट व्यापारीहरू तरकारी खरिद गर्न आउने गर्छन् । पछिल्ला वर्षमा वैदेशिक रोजगारीबाट फर्किएका युवादेखि स्थानीय महिलासम्म व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

यस क्षेत्रमा गोलभेडा, बन्दागोभी, फूलगोभी, घ्यूसिमी, बोडी, भेडे खुर्सानी, अकबरे खुर्सानी, काँक्रो, स्कुस, मूला र हरियो केराउ मुख्य बालीका रूपमा उत्पादन गरिन्छ । अदुवा, टिमुर, लसुन, प्याज, नास्पाती, सुन्तलाको उत्पादन पनि राम्रो हुने गरेको छ ।

कपुरकोटमा वि.सं. २०४७ सालदेखि व्यावसायिक रूपमा बेमौसमी तरकारी खेती सुरु भएको हो । तराई र सहरी क्षेत्रमा गर्मी तथा वर्षाका कारण उत्पादन घट्ने जेठदेखि मंसिरसम्मको अवधिमा यहाँको चिसो हावापानी र पहाडी भूगोलले प्रशस्त तरकारी उत्पादन हुने भएकाले कपुरकोट बेमौसमी तरकारी उत्पादनको प्रमुख केन्द्रका रूपमा स्थापित हुँदै आएको छ ।

बजार केन्द्रका अनुसार गत वर्ष जेठ अन्तिम सातादेखि मङ्सिरसम्म ७८ लाख ९५ हजार ९३६ किलो तरकारी बिक्रीबाट ३० करोड ५१ लाख २२ हजार ७२५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस