सल्यान , साउन ११ । सल्यानमा लागूऔषधको जोखिम भित्रभित्रै बढ्दै […]
सल्यान, ११ साउन ।
सल्यान र जाजरकोटको भौगोलिक सीमामा बग्ने भेरी नदीमाथिको झोलुङ्गे पुल भासिएको पाँच बर्ष हुनैलाग्दा पनि मर्मत तथा पुनःनिर्माण नहुँदा स्थानीय बासिन्दा ज्यान जोखिममा राखेर वारपार गर्न बाध्य छन् । वर्षायाममा भेरी नदीमा आएको भिषण बाढीले पिलरसहित पुलको मुख्य भाग भासिएपछि पुलको बीचको भाग उर्लँदो भेरी नदीको सहतमै झुण्डिन पुगेको छ । वैकल्पिक बाटो वा अर्को पुल नहुँदा सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. २ अन्तर्गत बाउनडाँडा, पारिल्ला, चैते, र कुरिल्ले लगायतका तीन वडाका विभिन्न बस्तीका मानिसहरु दिनहुँ यही पुलबाट यात्रा गर्न विवश बनेको वनगाड, २ का वडा अध्यक्ष मान बहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार अर्काे कुनै विकल्प नहुँदा दैनिक ८–१० जना विद्यार्थी समेत पढ्नका लागि दैनिक सुर्खेत तर्फ जानेगर्दछन् ।
वि.सं. २०७२ सालमा एक गैरसरकारी संस्थाको सहयोगमा निर्माण भएको १५७ मिटर लामो यो झोलुङ्गे पुलले सल्यान र जाजरकोटका दुर्गम गाउँहरूलाई जोड्दै आएको थियो । पुल बनेपछि स्थानीयको दैनिक आवतजावत, कृषि उपजको बजारीकरण, शिक्षा र स्वास्थ्य सेवामा पहुँच सहज बनेको थियो । तर पुल भासिएपछि अहिले स्थिति कतिबेला के हुन्छ भन्ने अवस्थामा रहेको छ।
स्थानीयका अनुसार पुलको बीच भागमा पुग्दा उर्लँदो भेरी नदीले खुट्टा काप्छ । अलिकति भारी बोकेर हिँड्दा वा वर्षामा नदीको सतह बढ्दा पुल प्रयोग गर्नै नसकिने हुन्छ । बिरामी, साना बालबालिका र वृद्धवृद्धालाई वारपार गराउनु भनेको मृत्युसँग जुध्नु सरह रहेको उनीहरुको भनाई छ । गाउँमा उत्पादित कृषिजन्य सामग्री, तरकारी तथा खसीबोका जाजरकोटको छेडाबजार लगाएत नजिकैका प्रमुख व्यापारिक केन्द्रहरूसम्म पु¥याउन किसानहरूले निकै सास्ती खेप्नुपरेको छ ।
पुलको जीर्ण अवस्थाबारे स्थानीयवासीले पटक–पटक सम्बन्धित निकायमा मर्मतका लागि गुहार लगाए पनि हालसम्म कसैले चासो देखाएका छैनन् । वडाध्यक्ष खत्रीले भन्नुभयो, “हामिले हरेक वर्ष पुल मर्मत वा नयाँ निर्माणका लागि माग गरिरहेको छौँ । स्थानीयहरुको भेला, निर्णय गरेर पालिका हुँदै प्रदेश, केन्द्रसम्म पुर्याएका छौँ । तर कसैले पहल थालेनन्” । वडाको सीमित बजेटले पुल निर्माण गर्न असम्भव रहेको उहाँले बताउनुभयो । सल्यान र जाजरकोट जोड्ने यो महत्वपूर्ण पूर्वाधार लामो समयसम्म अलपत्र पर्दा स्थानीय बासिन्दामा निराशा र आक्रोश बढेको छ । भोट दिएर पठाएका जनप्रतिनिधीले यती गम्भीर समस्यालाई सुनुवाई नगरेको भन्दै बनगाड, २ का स्थानीयहरुले आधारभुत मानिएको विद्युत सेवाबाट समेत वञ्चीत हुनुपरिरहेको दुःखेसो पोखेका छन् ।
