सल्यान, ११ साउन । सल्यान र जाजरकोटको भौगोलिक सीमामा बग्ने […]
सल्यान , साउन ११ ।
सल्यानमा लागूऔषधको जोखिम भित्रभित्रै बढ्दै गएको पाइएको छ । लागु औषधको प्रयोग र ओसारपसार जिल्लाका गाउँ गाउँमा देखिन थालेपछि यसले सामाजिक, मानसिक र आर्थिक समस्याहरू बढाउदै लैजाने चिन्ता थपिएको हो । सल्यानमा लागूऔषध नियन्त्रणका लागि प्रहरीले नियमित कारबाहीसँगै सचेतनामूलक अभियान सञ्चालन गरिरहे पनि यसको जोखिम अझै कायम देखिन्छ । बुधबार प्रहरीले शारदा नगरपालिका–१ श्रीनगरबाट एक युवकलाई खैरो हिरोइन सहित पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बुधबार साँझ करिब ५ बजेतिर श्रीनगर निवासी २३ वर्षीय सन्तोष बस्नेतले आफ्नै घरमा लागूऔषध सेवन तथा कारोबार गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले खानतलासी गरेको थियो । सो क्रममा उनी सुत्ने कोठाको सिरानीतर्फ डसनामुनि लुकाएर राखिएको खुकुरी चुरोटको बट्टाभित्र कालो र हरियो प्लास्टिकमा छुट्टाछुट्टै तीन पुडिया बनाई राखिएको हिरोइन जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो । बरामद पदार्थको प्लास्टिकसहित तौल ३९० मिलिग्राम र शुद्ध तौल २३० मिलिग्राम रहेको छ ।
प्रहरीले युवकलाई नियन्त्रणमा लिएको र जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । पछिल्लो समय लागुऔषधको बढ्दो प्रयोगले युवा वर्गलाई प्रभावित बनाएको छ । यसले मानसिक स्वास्थ्यका समस्या, पारिवारिक विखण्डन, अपराधको वृद्धि र अन्य सामाजिक विकृति ल्याएको छ ।
सल्यान प्रहरीका अनुसार भर्खरै सकिएको आर्थिक वर्ष २०८२।०८३ मा जिल्लाका विभिन्न स्थानबाट ७ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर, १३६ ग्राम ९७० मिलिग्राम चरेस, ९५० ग्राम सुकेको गाँजा, ४० ग्राम हरियो गाँजा तथा ८ वटा लागूऔषधजन्य ट्याब्लेट बरामद गरिएको थियो । वितेको एक वर्षको अवधिमा लागूऔषधसम्बन्धी घटनामा संलग्न २२ जनालाई पक्राउ गरिएको छ
लागूऔषध नियन्त्रणलाई कारबाहीमा मात्र सीमित नराखी प्रहरीले सचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ । गत आर्थिक वर्षमा जिल्लाभर ३७ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ४ हजार ५९३ जनालाई लागूऔषधको असर र कानुनी व्यवस्थाबारे अभिमुखीकरण गरिएको प्रहरीको तथ्यांक छ । प्रहरीले लागूऔषध ओसारपसार, कारोबार तथा सेवनमा संलग्न व्यक्तिविरुद्ध सूचना दिन सर्वसाधारणलाई आग्रह गर्दै यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइने जनाएको छ ।
यता सरोकारवालाहरुले भने लागूऔषधका सामान्य कारोबारीहरूलाई मात्रै नभई ठुला व्यापारीहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै आएका छन् । लागूऔषधले व्यक्ति र परिवारलाई मात्रै नभई समाजलाई पनि नराम्ररी बिथोल्ने भएकाले यसको नियन्त्रणमा सबैले लाग्न जरुरी छ । यसकिसिमका समस्या जरैबाट नष्ट गर्न सबै समुदायको सक्रिय सहभागितासंगै सरकार तथा सुरक्षा निकायले कडा कदम चाल्नुपर्ने देखिन्छ ।
