१९औँबाट पहिलो स्थानमा उक्लियो सल्यान प्रहरी, देशभरमै उत्कृष्ट कार्यसम्पादन

सल्यान, साउन ६ ।

जिल्ला प्रहरी कार्यालय सल्यान देशभरका ‘घ’ वर्ग अन्तर्गत पर्ने २५ जिल्ला प्रहरी कार्यालयमध्ये मासिक कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थान हासिल गर्न सफल भएको छ । केही महिनाअघि १९औँ स्थानमा रहेको सल्यान प्रहरीले कार्यसम्पादनमा निरन्तर सुधार गर्दै जेठमा दोस्रो र असार महिनाको मूल्याङ्कनमा सर्वाधिक अंक प्राप्त गर्दै देशकै उत्कृष्ट जिल्ला प्रहरी कार्यालय बन्न सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार प्रहरी नेतृत्व, सम्पूर्ण प्रहरी कर्मचारीको निरन्तर सक्रियता, समन्वय र अहोरात्र खटाइका कारण यो उपलब्धि हासिल भएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयले प्रत्येक महिना जिल्ला प्रहरी कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ । मूल्याङ्कनका क्रममा अपराध नियन्त्रण तथा अनुसन्धानको प्रभावकारिता, शान्ति सुरक्षा व्यवस्थापन, सेवा प्रवाह, प्रशासनिक अनुशासन, मानवअधिकारको पालना, नागरिकसँगको समन्वय, फरार प्रतिवादी पक्राउ, राजस्व असुली लगायतका विभिन्न सूचकलाई आधार बनाइन्छ । साथै विपद् व्यवस्थापन, जनगुनासो फछ्र्यौट तथा आन्तरिक अनुशासनजस्ता पक्षमा प्राप्त अंकसमेत समावेश गरी अन्तिम नतिजा निर्धारण गरिने व्यवस्था रहेको छ ।

ती सबै सूचकमा असार महिनाभर सल्यान प्रहरीले प्रभावकारी कार्यसम्पादन गरेको मूल्याङ्कनपछि कार्यालयले १९औँ स्थानबाट फड्को मार्दै पहिलो स्थान हासिल गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले यो उपलब्धिले जिल्लावासीप्रति थप जिम्मेवार र उत्तरदायी भएर सेवा प्रवाह गर्न प्रेरणा मिलेको बताउँदै आगामी दिनमा पनि शान्ति सुरक्षा, अपराध नियन्त्रण र नागरिकमैत्री प्रहरी सेवामा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस