सल्यान, साउन ६ । जिल्ला प्रहरी कार्यालय सल्यान देशभरका ‘घ’ […]
सल्यान, साउन ६ ।
वर्षायाममा हिलाम्य, चिप्लो तथा हिउँदयाममा धुलाम्य भै सवारी दुर्घटना क्षेत्रले चिनिने ग्रामीण मोटरबाटो थियो सल्यानस्थित कुमाख गाउँपालिका–४ को बल्लेदेखि ढुंगेपानीसम्मको मोटरबाटो । यहाँ सामान्य वर्षा हुँदा पनि पैदल हिँड्न कठिन हुने र मोटरसाइकल तथा अन्य सवारीसाधन सञ्चालन गर्न जोखिम मोल्नुपर्ने अवस्था थियो । यही कारण कुमाखका बस्नेत जिउला, कोटनाउला र बल्ले बस्तीका स्थानीयले वर्षौंदेखि सास्ती खेप्दै आएका थिए । अरनिको मावि कोटनाउलामा पढ्ने बालबालिकाले पनि निकै सास्ती व्यहोर्दै आएका थिए ।
तर यस वर्ष राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम मार्फत मोटरबाटोको दायाँबायाँ र आवश्यक स्थानमा पीसीसी गरेर ढुंगा बिछ्याई मोटरबाटोलाई मजबुत बनाएपछि पैदल यात्रु तथा सवारीसाधनको सास्ती हटेको छ । योजना अन्तर्गत बल्लेदेखि ढुंगेपानीसम्म करिब ३०० मिटर मोटरबाटोको स्तरोन्नति गरिएको पालिकाका रोजगार संयोजक जीवन शर्माले बताउनुभयो ।
उहाँका अनुसार जीर्ण मोटरबाटोका कारण सवारी आवागमनमा समस्या तथा विद्यालय जाने विद्यार्थी र कोटनाउला तथा बल्ले क्षेत्रका बासिन्दाले चौरजहारीतर्फ आवतजावत गर्दा पनि यही मोटरबाटो प्रयोग गर्ने भएकाले यसको सुधार स्थानीयको लामो समयदेखिको आवश्यकता बनेको थियो । राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम र कुमाख गाउँपालिकाको साझेदारीमा नौ लाख छ हजार २८४ रुपियाँ लागतमा मोटरबाटोको स्तरबृद्धि गरिएको हो । यसमध्ये सामाग्री खरिद तथा ढुवानी खर्च कुमाख गाउँपालिकाले व्यहोरेको छ भने श्रमिकको ज्याला राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम अन्तर्गत उपलब्ध गराइएको रोजगार संयोजक शर्माले बाउनुभयो ।
योजनामा १५ जना स्थानीय श्रमिक करिब ४१ दिनसम्म काममा खटिएका थिए भने यसले मोटरबाटो सुधारसँगै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न समेत सहयोग पुगेको छ । यसअघि पनि यही मोटरबाटोखण्डको तल्लो भागमा मर्मत तथा स्तरोन्नतिको काम सम्पन्न गरिएको थियो । पछिल्लो चरणमा बाँकी रहेको खण्ड सुधार भएपछि बस्नेत जिउला, कोटनाउला र बल्ले बस्तीबीचको आवागमन थप सहज भएको छ ।
