बागचौर नगरपालिकामा ७७ करोड २३ लाखको बजेट पारित

 

सल्यान, असार ३२ ।

गत असार १० गते १६ औँ नगरसभाको पहिलो बैठकमा प्रस्तुत गरिएको बागचौर नगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम, बजेट तथा आर्थिक विधेयक विहिबार सम्पन्न दोस्रो बैठकबाट सर्वसम्मत रूपमा पारित भएको छ। नगरसभाले आगामी आर्थिक वर्षका लागि ७७ करोड २३ लाख ७५ हजार ३३० रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको हो।

पारित बजेटमध्ये चालु खर्चतर्फ ५५ करोड ७८ लाख ११ हजार २७९ रुपैयाँ र पुँजीगत खर्चतर्फ २१ करोड ४५ लाख ६४ हजार ५१ रुपैयाँ विनियोजन गरिएको छ। नगरपालिकाले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने, उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिने तथा समावेशी विकासलाई केन्द्रमा राखेर बजेट कार्यान्वयन गरिने जनाएको छ।

नगरसभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि सभाका सदस्यहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, पर्यटन, रोजगारी, सामाजिक सुरक्षा तथा सुशासनका विषयमा आआफ्ना धारणा राख्दै विभिन्न सुझाव दिएका थिए। सदस्यहरूले स्थानीय आवश्यकता अनुसार बजेट कार्यान्वयन गर्नुपर्ने, विकास आयोजनाको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए। छलफलका क्रममा उठेका सुझावलाई समेट्दै नीति तथा कार्यक्रम, बजेट र आर्थिक विधेयक सर्वसम्मत रूपमा पारित गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रको गुणस्तर सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार, कृषि उत्पादन वृद्धि, सिँचाइ तथा खानेपानी योजनाको विस्तार, सडक पूर्वाधारको स्तरोन्नति, पर्यटन प्रवर्द्धन, युवा तथा महिला लक्षित स्वरोजगार कार्यक्रम, सामाजिक सुरक्षा तथा सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको जनाएको छ। स्थानीय स्रोत, साधन र सम्भावनाको उपयोग गर्दै उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनामा जोड दिइने नीति लिइएको छ।

त्यसैगरी स्थानीय उत्पादनको बजारीकरण, कृषिमा आधुनिक प्रविधिको प्रयोग, पर्यटन पूर्वाधार निर्माण, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा डिजिटल प्रविधिमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने कार्यक्रम पनि बजेटमा समावेश गरिएको जनाइएको छ। आर्थिक गतिविधिलाई चलायमान बनाउँदै नगरवासीको जीवनस्तर उकास्ने गरी बजेट कार्यान्वयन गरिने नगरपालिकाको भनाइ छ।

यसअघि असार १० गते बसेको नगरसभाको पहिलो बैठकमा नगरप्रमुख जनकराज गौतमले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटको संक्षिप्त विवरण प्रस्तुत गर्नुभएको थियो। विहिबार सम्पन्न दोस्रो बैठकमा नगरपालिकाकी उपप्रमुख सुमनिमा डिसी ओलीले बजेटको विस्तृत विवरण सभासमक्ष प्रस्तुत गर्नुभएको थियो। बजेटमाथि सदस्यहरूबीच विस्तृत छलफल सम्पन्न भएपछि नीति तथा कार्यक्रम, बजेट र आर्थिक विधेयक सर्वसम्मत रूपमा पारित गरिएको हो।

नगरसभाले पारित गरेको बजेटमार्फत आधारभूत सेवा थप प्रभावकारी बनाउने, कृषि तथा पर्यटनमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने, सडक तथा खानेपानीलगायत पूर्वाधार विकासलाई तीव्रता दिने, सुशासन प्रवर्द्धन गर्ने तथा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने विकासका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने लक्ष्य नगरपालिकाले लिएको जनाएको छ। आगामी आर्थिक वर्षमा विकास निर्माणका योजना समयमै सम्पन्न गर्दै वित्तीय अनुशासन कायम गर्ने र सार्वजनिक खर्चलाई परिणाममुखी बनाउने प्रतिबद्धता पनि नगरपालिकाले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस