दार्मामा स्क्रबटाइफसको संक्रमण तिब्र, ७ को मृत्यु, प्रभावित क्षेत्रम टोलि

सल्यान, ६ असोज ।

सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफसको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । सङ्क्रमणका कारण उत्पन्न जटिलताले हालसम्म सात जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानले दिएको जानकारी अनुसार सोमबारसम्म १९९ जनाको परीक्षण गर्दा ६० जनामा सङ्क्रमण पुष्टि भएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत तारा रिजालले सङ्क्रमण फैलिएपछि कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय र स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजनामा अति प्रभावित क्षेत्रमा मंगलबारदेखी वृहत स्वास्थ्य शिविर तथा द्रुत प्रतिकार्य टोलि परिचालन भएको जनाउनुभयो । दार्मा, १ को दार्माकोटमा आज शिविर सञ्चालन भैरहेको छ ।

गाउँपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाले उपलब्ध गराएको विवरण अनुसार स्क्रबटाइफस सङ्क्रमणको जोखिमको कारण दार्मा-६ का ८२ वर्षीय बल बहादुर थापाको भदौ ९ मा सल्यान अस्पतालमा, दार्मा-५ का ६९ वर्षीय तुल बहादुर खड्काको भदौ ५ मा अस्पतालबाट घर फर्कंदा, दार्मा-६ का ६७ वर्षीय नर बहादुर बुढाथोकीको भदौ ७ मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र दार्मा-१ का ५१ वर्षीय खिमानन्द केसीको भदौ १९ मा नेपालगञ्जमा मृत्यु भएको छ । त्यसैगरी दार्मा-२ का १२ वर्षीय बालक नरेश वलीको भदौ २५ मा कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । असोज महिना लागेपछि दार्मा-१ का ६७ वर्षीय तोलाराम सुनारको असोज २ मा तथा दार्मा-१ कै ६१ वर्षीय नरेन्द्र रोकायाको असोज ३ मा नेपालगञ्जमा मृत्यु भएको पालिकाले स्वास्थ्य सेवा कार्यालयलाइ उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

मृतक अधिकांशमा पहिले नै सुगर, कलेजो, उच्च रक्तचाप, मिर्गौला तथा श्वासप्रश्वास जस्ता दीर्घरोगको पनि समस्या रहेको थियो ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार सल्यान अस्पतालका चिकित्सक डा. बालाराम के.सी. र दार्मा गाउँपालिका स्वास्थ्य सेवाका डा. अभिनित चौधरीको नेतृत्वमा टोली खटिएको छ । टोलीमा जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजाल, ल्याब टेक्निसियन खगेन्द्र भट्टराई, सिनियर अनमी थुमा बुढाथोकी र कम्प्युटर सहायक गोविन्द चलाउने लगायतका स्वास्थ्यकर्मीहरू संलग्न हुनुहुन्छ ।

टोलिले अति प्रभावित क्षेत्रहरूमा बृहत् स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीको प्रत्यक्ष उपचार, प्रयोगशाला परीक्षण तथा रोकथामका लागि जनसचेतना अभियान तीव्र पारेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस