विद्यार्थीको खाजा खर्चसहित एमएम एकेडेमीबाट बाढीपीडितलाई १ लाख २८ हजार

सल्यान, १६ भदौ ।

सल्यान खलंगास्थित एमएम एकेडेमी प्रालिले बाढीपीडितका लागि १ लाख २८ हजार ८ सय ५ रुपैयाँ सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको खाजा खर्च, शिक्षक कर्मचारी तथा साहुटोल बजार क्षेत्रबाट रकम संकलन गरी उक्त सहयोग गरिएको हो ।

एमएम एकेडेमीका सञ्चालक महेश देवकोटाले विद्यार्थीबाट २९ हजार १५ रुपैयाँ, शिक्षक कर्मचारीबाट ३८ हजार ५ रुपैयाँ, साहुटोल बजार क्षेत्रबाट २७ हजार ९ सय ६५ रुपैयाँ र विद्यालयका तर्फबाट ३३ हजार ८ सय २० रुपैयाँ संकलन गरेर नेपाल सरकारको केन्द्रीय राहत कोषमा जम्मा गरिएको बताउनुभयो । विपद्का बेला विद्यालय परिवार र समुदाय मिलेर सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएको विद्यालयको भनाइ छ ।

यस्तै बनगाड कुपिण्डे नगरपालिका स्थित श्रीकृष्ण बोर्डिङ स्कुल देवस्थलका विद्यार्थीले पनि आफ्नो एक दिनको खाजा खर्च बचाएर बाढीपीडितका लागि २३ हजार ७ सय ४५ रुपैयाँ सहयोग गरेका छन् ।

विद्यालय कप्तान मौसम बुढा, उपकप्तान रोहिन उपाध्याय तथा कक्षा २ देखि १० सम्मका सम्पूर्ण कक्षाका क्याप्टेनको सहभागितामा सामाजिक शिक्षक वीरेन्द्र बुढाको सहजीकरणमा रकम संकलन गरिएको हो । संकलित रकम रसुवा बाढीपीडितका लागि नेपाल सरकारको खातामा जम्मा गरिएको विद्यालयले जनाएको छ ।

विद्यार्थीले आफ्नो खाजा खर्चबाट रकम बचाएर विपद्मा परेका नागरिकलाई सहयोग गर्नु उनीहरूमा राम्रो संस्कार विकास गर्ने माध्यम भएको विद्यालयले जनाएको छ । दुवै विद्यालयबाट बाढीपीडितका लागि गरी १ लाख ५२ हजार ५ सय ५० रुपैयाँ सहयोग भएको हो ।

प्रतिक्रिया दिनुहोस