ग्रामीण बालबालिकालाई वित्तीय संस्थाको झोला सहयोग

सल्यान, २१ साउन ।

सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं ५ स्थित कालिका आधारभूत विद्यालयका ससाना बालबालिकालाई शैक्षिक सामग्री व्यवस्थापनमा सहजता पुर्‍याउने उद्देश्यले विद्यालय झोला वितरण गरिएको छ । श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झोला हस्तान्तरण गरेको हो ।

विद्यालय प्रशासनका अनुसार प्रारम्भिक बालविकास केन्द्र देखि कक्षा २ सम्म अध्ययनरत बालबालिकालाई लक्षित गरी ५० थान नयाँ विद्यालय झोला उपलब्ध गराइएको हो ।

ग्रामीण क्षेत्रका तथा विपन्न आर्थिक अवस्था भएका परिवारका कतिपय बालबालिकालाइ शैक्षिक सामग्री सुरक्षित राख्न र दैनिक विद्यालय आउन जाउनका लागि झोला अभाव हुँदै आएको थियो ।

सहयोग प्राप्त भएपछि खुसी व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक बालाराम वलीले यो प्रयासले बालबालिकाको पठनपाठनमा प्रत्यक्ष र सकारात्मक प्रभाव पार्ने बताए । झोला अभावका कारण किताब, कापी, कलम छिट्टै च्यातिने वा हराउने समस्या हुनेगरेकोमा झोला पाएपछि अब बालबालिकाका शैक्षिक सामग्री सुरक्षित हुने र यसले उनीहरूमा विद्यालयमा नियमित उपस्थिति समेत बढाउने बिद्यालयको विश्वास छ ।

बुधबार आयोजित झोला हस्तान्तरण कार्यक्रममा बोल्दै श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी, सल्यान शाखाका अपरेशन इन्चार्ज डिल्लीराज वलीले शिक्षाको जग मानिने आधारभूत तहका बालबालिकालाई सहयोग गर्न पाउनु संस्थाका लागि खुसीको विषय भएको बताए । शिक्षा क्षेत्रमा गरिएको सानो सहयोगले पनि बालबालिकाको उज्ज्वल भविष्यका लागि दीर्घकालीन र सकारात्मक प्रभाव पार्न सक्ने भन्दै उनले आगामी दिनमा पनि कम्पनीले ग्रामीण तथा पछाडि परेका समुदायसँग प्रत्यक्ष जोडिने खालका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया दिनुहोस