सवारीसाधन र गाउँलाई नै जोखिम देखिएपछी राम्रीमा ठूलो ढुंगा फोड्दै

सल्यान, साउन १० ।

राप्ती लोकमार्ग अन्तर्गत कपुरकोट–तुलसीपुर सडकखण्डको राम्रीस्थित जोखिमपूर्ण ढुंगा फुटाउने कार्य पाँचदिनयता जारी छ । सवारीसाधन, यात्रु तथा सडक तलको राम्री गाउँलाई नै जोखिम बढेपछि मेसिन प्रयोग गरेर ढुंगा फुटाउन सुरु गरिएको थियो ।

राम्री बजारको पानीको मूल नजिक सडकमाथि रहेको उक्त ढुंगाले आफ्नो पुरानो आधार छोडेर करिब पाँच मिटर तलतिर सरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै ढुंगा हटाउने काम सुरु गरिएको हो । तीन-चार दिनमै ढुंगा हटाउन सकिने आँकलन गरिएपनी पाँचौ दिनसम्म आइपुग्दा समेत पुरै ढुंगा फुटाउन नसकिएको र अझै केही दिन लाग्ने भएको तुपसिपुर-३ का वडा सदस्य कर्ण बहादुर बुढाले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय घोराहीसंगको समन्वय र डिभिजन कार्यालयकै खर्च व्यवस्थापनमा सल्यान–रुकुम सडकखण्ड स्तरोन्नति कार्य गरिरहेको पी.के. निर्माण सेवा प्रालिले एक्स्काभेटरमा जडान गरिएको ब्रेकर मेसिन प्रयोग गरी गत साउन ६ गतेदेखि ढुंगा फुटाउने कार्य सुरु गरेको थियो । ढुंगाको आकार ठूलो तथा धुले ढुंगा भएकाले ससाना टुक्रा मात्र फुट्ने भएकाले समय लम्बिएको हो ।

ढुंगा फुटाउने क्रममा बेलाबेला राप्ती लोकमार्गमा केही समयका लागि सवारी आवागमन रोक्ने गरिएको छ । त्यसपछि सडकमा खसेका ढुंगा तथा माटो तत्काल हटाएर सडक सफा गरी पुनः यातायात सञ्चालन गरिँदै आएको छ । यसले यात्रुलाई केही समय असहज भए पनि सम्भावित ठूलो दुर्घटना रोक्नका लागि आवश्यक सावधानी अपनाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

उक्त स्थानमा पूर्वतर्फ भगवती मन्दिर, पश्चिमतर्फ सडक, उत्तरतर्फ ठूलो मूल र दक्षिणतर्फ सार्वजनिक शौचालय रहेको क्षेत्रभित्र रहेको ढुंगा बिस्तारै खस्किन थालेपछि स्थानीयवासीले लामो समयदेखि जोखिमबारे चासो व्यक्त गर्दै आएका थिए ।

वडा सदस्य बुढाको पटक पटकको ध्यानाकर्षणपछी नगरप्रमुख टिकाराम खडका तथा वडा नं ३ का वडा अध्यक्ष बीर बहादुर बिकले सडक डिभिजन कार्यालयसंग संवाद भएर प्राविधिक मूल्याङ्कनपछि ढुंगा हटाउने निर्णय गरिएको हो ।

ढुंगा पूर्ण रूपमा हटाइएपछि सडक प्रयोगकर्ता र आसपासका बासिन्दाले सम्भावित जोखिमबाट राहत पाउने अपेक्षा गरिएको छ । हाल राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान रुकुम सडकको विभिन्न खण्डमा सडक स्तरोन्नति कार्य भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस