सल्यान, ८ साउन । सल्यानका विभिन्न भागहरूमा पछिल्लो समय कानुनविपरित […]
सल्यान, साउन ८ ।
सल्यान प्रहरीले अबैध स्ल्याब ढुंगासहितको ट्रक नियन्त्रणमा लिएको छ । आवश्यक कागजातबिनै स्ल्याब ढुंगा ढुवानी गरिरहेको ट्रक पश्चिम सल्यानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१, सल्लीबजारस्थित प्रहरी चेकपोस्टमा शुक्रबार बिहान करिब ९ बजे नियमित सवारी जाँचका क्रममा रुकुम पश्चिमको चौरजहारीबाट बुटवलतर्फ जाँदै गरेको भे १ ख ३८०२ नम्बरको ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईका अनुसार शारदा नगरपालिका–१४ निवासी २८ वर्षीय प्रकाश विकले चलाएको उक्त ट्रकमा ढुवानी गरिएको स्ल्याब ढुंगासम्बन्धी आवश्यक कानुनी कागजात पेश गर्न नसकेपछि ट्रकसहित ढुंगा नियन्त्रणमा लिइएको हो ।
प्रहरीले नियन्त्रणमा लिइएको ट्रक र स्ल्याब ढुंगा हाल इलाका प्रहरी कार्यालय देवस्थलमा राखिएको जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीको भनाइ छ ।
