सल्यान, साउन ८ । सल्यान प्रहरीले अबैध स्ल्याब ढुंगासहितको ट्रक […]
सल्यान, ८ साउन ।
सल्यानका विभिन्न भागहरूमा पछिल्लो समय कानुनविपरित अनाधिकृत रूपमा मानवरहित हवाई उपकरण (ड्रोन) उडाउने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय सल्यानले ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्लाका विभिन्न क्षेत्रहरूमा विना अनुमति र दर्ता प्रक्रिया पुरा नगरी ड्रोन उडाइएको सूचना प्राप्त भएपछि प्रशासनले सूचना जारी गर्दै दर्ता तथा अनुमती लिन आग्रह गरेको हो ।कार्यालयका प्रशासकीय अधिकृत आनन्द विष्टद्वारा जारी सूचना अनुसार अति आवश्यक प्रयोजनका लागि ड्रोन प्रयोग गर्नु परेमा गृह मन्त्रालयको मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५ बमोजिम अनिवार्य रूपमा दर्ता तथा अनुमति लिनुपर्नेछ ।
भिडियोग्राफी, फोटो पत्रकारिता, अनुसन्धान तथा व्यक्तिगत युट्युब, भ्लगिङका लागि पछिल्लो समय ड्रोनको प्रयोग व्यापक बन्दै गएको छ । तर सल्यानमा सुरक्षा निकायलाई जानकारी नै नदिई वा आवश्यक स्वीकृतिको प्रक्रिया नै नपुऱ्याई ड्रोन उडाउँदा गोपनीयता र सुरक्षा चुनौती बढेको भन्दै प्रशासनले यसतर्फ चासो देखाएको हो ।
प्रशासनले तोकिएको कार्यविधि पालना नगरी मनोमानी रूपमा ड्रोन उडाएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाहीको चेतावनी समेत दिएको छ ।
गृह मन्त्रालयको ‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५’ अनुसार नेपालमा ड्रोन उडानका लागि निश्चित नियमहरू तय गरिएका छन् । ड्रोनको तौलका आधारमा क्याटेगरी (ए, बी, सी, डी) विभाजन गरिएको हुन्छ । साना र मनोरञ्जनात्मक बाहेक प्रायः ड्रोनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता अनिवार्य हुन्छ ।
यस्तै व्यवसायिक वा अनुसन्धानमूलक कार्यका लागि ड्रोन उडाउनु अघि सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय र आवश्यकता अनुसार गृह मन्त्रालय एवं सुरक्षा निकायको लिखित अनुमति लिनुपर्नेहुन्छ ।
कार्यविधि अनुसार विमानस्थल, सैन्य ब्यारक, मन्त्रालय परिसर, पुरातात्विक स्थल, जैविक विविधता संरक्षण क्षेत्र तथा सुरक्षाका दृष्टिले संवेदनशील इलाकाहरूमा ड्रोन उडाउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।
