सल्यानमा दर्ता २३० मुद्दामध्ये ५८ वटा जघन्य तथा गम्भीर

८७ अवैध हातहतियार बरामद, ८५ सवारीसाधन नियन्त्रण

सल्यान, साउन ७ ।

आर्थिक वर्ष २०८२/०८३ मा सल्यान प्रहरीले अपराध अनुसन्धान र नियन्त्रणसँगै अदालतबाट फरार रहेका प्रतिवादी पक्राउ, लागूऔषध नियन्त्रण, प्राकृतिक स्रोत संरक्षण र समुदायमा सचेतना फैलाउने अभियानलाई सँगसँगै अघि बढाएको देखिएको छ। एक वर्षको अवधिमा जिल्लामा २३० वटा अपराधका मुद्दा दर्ता हुँदा १७८ जना अभियुक्त पक्राउ परेका छन् भने अदालतबाट दोषी ठहर भई फरार रहेका ११७ जना प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार वर्षभर दर्ता भएका तथा अघिल्ला वर्षका पेन्डिङसमेत गरी २८७ वटा मुद्दा फर्छ्योट गरिएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार जिल्लामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, सवारी ज्यान, बैंकिङ कसुर, लागूऔषध, अभद्र व्यवहार, विद्युतीय कसुर, ठगीलगायतका विभिन्न प्रकृतिका अपराधका मुद्दा दर्ता भएका छन्।

दर्ता भएका २३० मुद्दामध्ये ५८ वटा जघन्य तथा गम्भीर प्रकृतिका, ३९ वटा आर्थिक अपराध, २८ वटा सामाजिक अपराध तथा ९८ वटा अन्य प्रकृतिका रहेका छन्। ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, बैंकिङ कसुर, लागूऔषध र अभद्र व्यवहारका मुद्दामा सबैभन्दा बढी अभियुक्त पक्राउ परेका छन्।

प्रहरीका अनुसार आर्थिक वर्षको अन्त्यसम्म पनि विभिन्न मुद्दाका ९ जना अभियुक्त फरार छन्। तीमध्ये बैंकिङ कसुर, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग तथा सवारी ज्यानसम्बन्धी मुद्दाका प्रतिवादी रहेका छन्।

लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले ७ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर, १३६ ग्राम ९७० मिलिग्राम चरेस, ९५० ग्राम गाँजा, ४० ग्राम हरियो गाँजा र ८ वटा लागूऔषधजन्य ट्याब्लेट बरामद गरेको छ। यस क्रममा २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्लामा आत्महत्याको संख्या पनि चिन्ताजनक देखिएको छ। प्रहरी तथ्यांकअनुसार आर्थिक वर्षभर ५१ जनाले आत्महत्या गरेका छन्। त्यसमध्ये ४८ जनाले झुन्डिएर र ३ जनाले विष सेवन गरेर ज्यान गुमाएका हुन्। यसै अवधिमा हराएका ८३ जनालाई प्रहरीले खोजी गरी परिवारको सम्पर्कमा ल्याएको जनाएको छ।

राजस्व चुहावट, अवैध ढुंगा–बालुवा उत्खनन, काठ तथा जडीबुटी तस्करी नियन्त्रणका क्रममा प्रहरीले ८५ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। यसमध्ये ७० वटा सवारीसाधन नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसारमा संलग्न रहेको प्रहरीले जनाएको छ। काठ, जडीबुटी तथा नदीजन्य पदार्थ नियन्त्रणबाट लाखौं रुपैयाँ राजस्व संकलन भएको विवरणमा उल्लेख छ।

प्रहरीले वर्षभर ८७ थान भरुवा बन्दुक बरामद गरेको छ। तीमध्ये ८५ थान बेवारिसे अवस्थामा तथा २ थान व्यक्तिसहित बरामद गरिएको हो।

अपराध न्यूनीकरणका लागि समुदायसँगको सहकार्यलाई पनि प्रहरीले प्राथमिकता दिएको जनाएको छ। आर्थिक वर्षभर विद्यालय तथा समुदाय केन्द्रित ६४७ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्, जसमा २५ हजार ७३४ जनाको सहभागिता रहेको छ। आत्महत्या न्यूनीकरण, बालविवाह, लागूऔषध दुव्र्यसन, साइबर अपराध, महिला हिंसा, मानव बेचबिखन, ट्राफिक सुरक्षा, बोक्सी आरोप, वन डढेलो तथा प्राकृतिक विपद्लगायतका विषयमा कार्यक्रम सञ्चालन गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

प्रहरीका अनुसार लामो तथा छोटो दूरीका गस्ती नियमित परिचालन, संवेदनशील क्षेत्रमा निगरानी वृद्धि, सादा पोशाकमा सूचना संकलन तथा समुदायमा आधारित रोकथाममूलक कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइएकै कारण अपराध नियन्त्रणसँगै फैसला कार्यान्वयन, प्राकृतिक स्रोत संरक्षण र जनचेतना अभिवृद्धिमा उल्लेखनीय प्रगति हासिल भएको हो।

प्रतिक्रिया दिनुहोस