व्यवहारिक शिक्षा र पुस्तकालय कोषका लागि सामुदायिक बिद्यालयमा मास खेती

रुपलाल गिरी
सल्यान, साउन ६ ।

सल्यानको एक सामुदायिक विद्यालयमा विद्यार्थीले दलहन बाली अन्तर्गत मासको खेती गरेका छन् । बिद्यालयमा रहेको बाल पुस्तकालयको दिगो व्यवस्थापनका लागि कोष जुटाउने उद्देश्यले जिल्लाको छत्रेश्वरी गाउँपालिका, ३ स्त्जित जानकी माध्यमिक विद्यालय, दोहलीका विद्यार्थीले रोपेको मासबालीको बुधबार गोडमेल गरिएको छ । बर्खे बिदा २०८३ सुरु हुनुअघि विद्यालयले विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि र स्थानीय समुदायको सहभागितामा गोडमेल तथा स्याहार सम्भार कार्य गरेको हो ।

विद्यालयका अनुसार नियमित कक्षाको पढाइसँगै बालबालिकाको व्यवहारिक शिक्षा र उत्पादनमूलक गतिविधिलाई जोड्दै विद्यार्थीबाटै मासबाली रोपिएको थियो उत्पादन हुने बालीबाट प्राप्त आम्दानी विद्यालय पुस्तकालय व्यवस्थापन कोषमा जम्मा गर्ने योजना रहेको विद्यालयका प्रधानाध्यापक सुरेश बुढाथोकीले जानकारी दिनुभयो ।

मास बाली गोडमेलसँगै विद्यालय परिसरको फूलबारी व्यवस्थापनसमेत गरिएको थियो । यस्ता गतिविधिले विद्यार्थीमा कृषि सम्बन्धी व्यवहारिक ज्ञान, श्रमप्रतिको सम्मान, जिम्मेवारीबोध तथा आत्मनिर्भरताको भावना विकास गर्नुका साथै सिकाइलाई व्यवहारसँग जोड्न मद्दत पुग्ने अपेक्षा गरिएको प्रअ बुढाथोकीले बताउनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य पवित्रा डाँगी, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिल्ली केसी, पूर्व वडा सदस्य शिवबहादुर सुनार, धर्मभूमि मोडेल पब्लिक स्कुलका लेखापाल बेनी बिष्ट, पूर्णबहादुर बिकसहित स्थानीय अभिभावक, जनप्रतिनिधि र युवाहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले विद्यालयले शिक्षालाई उत्पादनसँग जोड्दै समुदायको सहभागितामा सञ्चालन गरेको अभियान उदाहरणीय भएको उल्लेख गरेका थिए । उनीहरूले यस्ता कार्यक्रमले विद्यार्थीमा श्रमको सम्मान र आत्मनिर्भर बन्ने संस्कार विकास हुने भएकाले आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस