घरदैलोमै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा

शंकर केसी
सल्यान, ५ साउन ।

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न अधिकांश स्थानीय तहमा लाभग्राही आफैं वडा कार्यालय पुग्नुपर्ने बाध्यता रहँदै आएको बेला सल्यानको छत्रेश्वरी गाउँपालिका ५ नं वडा कार्यालयले भने सेवा नै टोल टोलमा पुर्‍याउने भएको छ ।
वृद्धवृद्धा, अशक्त, अपांगता भएका व्यक्ति तथा अन्य लाभग्राहीलाई वडा कार्यालयसम्म धाउनुपर्ने झन्झट हटाउने र वडा कार्यालयमा हुने भिड कम गर्ने उद्देश्यले बायोमेट्रिकसहितको नवीकरण सेवा टोलस्तरमै सञ्चालन गर्न लागिएको हो ।

आर्थिक वर्ष २०८३/८४ का लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीको नवीकरण राष्ट्रिय परिचयपत्रका आधारमा बायोमेट्रिक प्रणाली मार्फत गरिनेछ । यसका लागि विभिन्न टोलमा पुगेर सेवा दिने तयारी गरिएको वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले जानकारी दिनुभयो ।

सामान्यतया यस्ता सेवाका लागि लाभग्राही वडा कार्यालय पुग्नुपर्ने प्रचलन रहेको भए पनि यस पटक वडा नम्बर ५ ले सेवा नै नागरिकको घरदैलो नजिक पुर्‍याउने निर्णय गरेको हो । यसबाट विशेषगरी ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति तथा दुर्गम बस्तीका बासिन्दालाई समय, खर्च बच्ने र सास्ती कम हुने अपेक्षा गरिएको छ । वडा कार्यालयमा एकैदिन भीडभाड हुने अवस्था पनि कम हुने विश्वास गरिएको वडा अध्यक्ष बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार लाभग्राहीले नेपाली नागरिकताको प्रतिलिपि, सामाजिक सुरक्षा परिचयपत्र, पासपोर्ट साइजको फोटो तथा आवश्यक अन्य कागजात लिएर आफ्नो टोलका लागि तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा स्वयं उपस्थित हुनुपर्नेछ । बालबालिका, एकल महिला तथा ‘क’ र ‘ख’ वर्गका लाभग्राहीका लागि आवश्यक थप कागजातसमेत तोकिएको छ ।

वडा कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार साउन ९ गते टोल नं १ को बागबजार र टोल नं २ को टुनिबोट, साउन १० गते टोल नं ३ को पाखापानी र टोल नं ४ को दियारगाउँ, साउन १६ गते टोल नं ५ को पोखरा, साउन १७ गते टोल नं ६ को महानेटा र टोल नं ७ को चौरपानी, साउन २३ गते टोल नं ८ को ढोरेनी तथा साउन २४ गते टोल नं ९ को सिरुवालीमा नवीकरण सेवा सञ्चालन हुनेछ । बिहान १० बजेदेखि प्रत्येक टोलमा तोकिएको स्थानबाट सेवा प्रदान गरिने जनाइएको छ । टोल अनुसार जनप्रतिनिधिको जिम्मेवारी समेत तोकिएको छ ।

वडा अध्यक्ष बस्नेतले सबै लाभग्राहीलाई आफ्नो टोल अनुसारको मिति र स्थानमा समयमै उपस्थित भई नवीकरण गराउन आग्रह गर्नुभएको छ । टोलमै पुगेर सेवा उपलब्ध गराउने व्यवस्थाले सेवा प्रवाहलाई सहज, प्रभावकारी र नागरिकमैत्री बनाउने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस