सल्यान, ४ साउन । जंगल तथा जंगल क्षेत्रको ओढारमा लुकाइ […]
सल्यान, ४ साउन ।
सल्यानमा केही समयदेखि स्वास्थ्य बीमा अन्तर्गतका सेवा बन्द हुँदा उपचारबाट वञ्चित हुनुपरेका बीमित सेवाग्राहीका लागि राहत मिलेको छ । स्वास्थ्य बीमा बोर्डले परिमार्जित सुविधा प्याकेज लागु गरेपछि जिल्ला अस्पतालले स्वास्थ्य बिमा अन्तर्गतका सबै स्वास्थ्य सेवा पुनः सञ्चालनमा ल्याएको हो ।
स्वास्थ्य सेवा कार्यालय सल्यानले सोमबार सूचना जारी गर्दै स्वास्थ्य बिमा बोर्डको असार २० गतेको पत्र अनुसार परिमार्जित सुविधा प्याकेज कार्यान्वयनमा आएसँगै अस्पतालबाट स्वास्थ्य बिमा अन्तर्गतका सबै सेवा पुनः सुचारु गरिएको जनाएको हो । यससँगै रोकिएका उपचार, परीक्षण तथा अन्य बीमा अन्तर्गतका सेवाहरू फेरि नियमित रूपमा उपलब्ध हुने भएका हुन् ।
यस अघि स्वास्थ्य बीमा बोर्डबाट प्राप्त हुनुपर्ने दाबी रकम लामो समयसम्म भुक्तानी नहुँदा र सेवा प्रदान गर्दा लाग्ने वास्तविक खर्चको तुलनामा सुविधा प्याकेजको दररेट अत्यन्त न्यून रहेको भन्दै अस्पतालले स्वास्थ्य बीमा अन्तर्गतका सेवा अस्थायी रूपमा स्थगित गरेको थियो । अस्पताल प्रशासनले आर्थिक भार थेग्न नसकिने अवस्था सिर्जना भएपछि बाध्य भएर सेवा रोक्नुपरेको जनाएको थियो ।
स्वास्थ्य बीमा बोर्डले सुविधा प्याकेज परिमार्जन गरी नयाँ दररेट लागू गरेपछि सेवा सञ्चालनको वातावरण बनेको अस्पतालले जनाएको छ । नयाँ व्यवस्थाले अस्पताललाई सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ भने बीमित नागरिकले पनि पुनः आफ्ना अधिकार अनुसार उपचार सेवा पाउने भएका छन् ।
अस्पताल प्रशासनका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सेवाग्राहीले अब तोकिएको प्रक्रिया पूरा गरी अस्पतालबाट सहज रूपमा सेवा लिन सक्नेछन् । यद्यपि स्वास्थ्य बीमा अन्तर्गत अस्पताल फार्मेसीबाट वितरण गरिने औषधि भने एक पटकमा बढीमा एक महिनाका लागि मात्रै उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
अस्पताल प्रशासनले सबै बीमित सेवाग्राहीलाई स्वास्थ्य बीमासम्बन्धी आवश्यक कागजातसहित अस्पतालमा उपस्थित भई तोकिएको प्रक्रियाअनुसार सेवा लिन आग्रह गरेको छ।
