सल्यान प्रहरीमा महिना दिनको तथ्यांक

गम्भीर अपराध, सवारी दुर्घटना र आत्महत्याको डरलाग्दो अवस्था

सल्यान, साउन २ ।

सल्यान जिल्लामा असार महिनाभर आत्महत्या, सवारी दुर्घटना, जघन्य अपराध तथा ट्राफिक नियम उल्लङ्घनका घटनाले चिन्ताजनक अवस्था देखाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानको मासिक विवरण अनुसार एक महिनामा नौ जनाले आत्महत्या गरेका छन् भने १० वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु र १० जना घाइते भएका छन् । यस अवधिमा विभिन्न प्रकृतिका २१ वटा मुद्दा दर्ता हुनुका साथै २८ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले असार महिनामा दर्ता भएका २१ मुद्दामध्ये छ वटा जघन्य तथा गम्भीर अपराध, एउटा आर्थिक अपराध, दुई वटा सामाजिक अपराध तथा १२ वटा अन्य प्रकृतिका मुद्दा रहेको बताउनुभयो । सोही अवधिमा अघिल्ला महिनादेखिका समेत गरी २६ वटा मुद्दा फर्छ्यौट गरिएको छ ।

आत्महत्या अझै गम्भीर सामाजिक चुनौती

प्रहरीको तथ्यांक अनुसार असार महिनामा झुन्डिएर सात जना र विष सेवनबाट दुई जनाले आत्महत्या गरेका छन् । एक महिनामै नौ जनाले ज्यान गुमाउनु जिल्लाका लागि गम्भीर सामाजिक तथा मानसिक स्वास्थ्यसँग जोडिएको चुनौतीका रूपमा देखिएको छ ।

मानसिक तनाव, पारिवारिक विवाद, आर्थिक समस्या, वैदेशिक रोजगारीका चुनौती, लागुऔषध दुव्र्यसन लगायतका कारण आत्महत्याका घटना बढ्न सक्ने भएकाले समुदायस्तरमै मनोसामाजिक परामर्श, सचेतना र समयमै सहयोगको आवश्यकता रहेको सरोकारवालाहरू बताउँछन् । जिल्लामा विभिन्न तहबाट आत्महत्या रोकथामका लागि सचेतनाका प्रयासहरु सञ्चालन भएता पनि घटनामा कमि आउन नसकेको हो ।

सवारी दुर्घटनाको अवस्था पनि चिन्ताजनक

असार महिनाभर जिल्लाका विभिन्न स्थानमा भएका १० वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस अवधिमा प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने ४५५ वटा सवारी साधनमाथि कारबाही गरेको जनाएको छ । उक्त कारबाहीबाट चार लाख ५०० रुपियाँ राजस्व संकलन भएको छ । नियमित चेकजाँच, सवारी परीक्षण र चालकलाई सचेत गराउने अभियानलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।

फरार प्रतिवादी पक्राउमा सक्रियता

असार महिनामा विभिन्न मुद्दाका २८ जनालाई पक्राउ गरिएको प्रहरीले जनएको छ । साथै अदालतबाट फैसला भई फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरी छ वर्ष एक महिना कैद सजाय कार्यान्वयन गरिनुका साथै ९७ हजार ६०० रुपियाँ जरिवाना असुल गरिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

असार महिनामा भएका जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योगसम्बन्धी घटनाका आरोपितलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको पनि प्रहरीले जनाएको छ । एउटा घटनामा प्रतिवादीलाई पुर्पक्षका लागि कारागार पठाइएको छ भने अर्को घटनामा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

हराएका सबै व्यक्ति सकुशल फेला

प्रहरीका अनुसार असार महिनामा हराएका १० जनालाई सकुशल फेला पारिएको छ । यस्तै घरेलु हिंसासम्बन्धी तीनवटै उजुरी मिलापत्र मार्फत टुङ्ग्याइएको छ । समुदायमा विवाद समाधान तथा मेलमिलापलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ ।

प्राकृतिक स्रोत संरक्षण अभियान अन्तर्गत प्रहरीले अवैध रूपमा काटिएको सल्लाको काठ बरामद गरी आवश्यक कानुनी कारबाही अघि बढाएको जनाएको छ । नदीजन्य पदार्थको अवैध उत्खननमा प्रयोग भएका सवारी साधन नियन्त्रणमा लिइएको पनि प्रहरीले जनाएको छ ।

यसैगरी नौ नाल भरुवा बन्दुक बरामद गरी एक जनालाई पक्राउ गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ । जिल्लामा अवैध हतियार नियन्त्रण तथा अपराध न्यूनीकरणका लागि नियमित निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

समुदाय प्रहरी साझेदारीमा जोड

जिल्लामा शान्ति सुरक्षा कायम राख्न नियमित गस्ती, सवारी चेकजाँच, अपराध अनुसन्धान तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएको सूचना अधिकारी भट्टराईले बताउनुभयो । विद्यालय, टोल तथा स्थानीय समुदायमा अपराध नियन्त्रण, लागूऔषध दुर्व्यसनि, घरेलु हिंसा, साइबर अपराध र ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस