नयाँ आर्थिक बर्षको पहिलो दिन कपुरकोटमा तरकारीको कारोबार यस्तो छ:

 

सल्यान, साउन १ ।

देशकै प्रमुख बेमौसमी तरकारी उत्पादन पकेट क्षेत्रका रूपमा चिनिएको सल्यानको कपुरकोट क्षेत्रमा नयाँ आर्थिक वर्षको पहिलो दिन किसानले आफ्नो उत्पादन बिक्रीवितरण गरेका छन् । शुक्रबारको तरकारी बजारमा किसानहरुले विभिन्न बेमौसमी ताजा तरकारी बिक्रीवितरण गरेका हुन् ।

कृषि उपज बजार केन्द्र कपुरकोटले सार्वजनिक गरेको आजको ताजा थोक मूल्य सूची अनुसार टमाटर न्यूनतम प्रति केजी ३० रुपियाँदेखि अधिकतम ४५ रुपियाँसम्ममा कारोबार भएको छ । त्यस्तै बन्दागोभी ३५ देखि ५० रुपियाँ, फूलगोभी ४० देखि ५५ रुपियाँ र भेडे खुर्सानी ५० देखि अधिकतम ६५ रुपियाँ प्रति केजीमा बिक्री भएको बजार केन्द्रले जनएको हो ।

खुर्सानीका विभिन्न प्रजातिहरूमध्ये मोटो खुर्सानी न्यूनतम ६० देखि अधिकतम ६५ रुपियाँ, मसिनो खुर्सानी न्यूनतम ६५ देखि अधिकतम ७० र अकबरे खुर्सानी न्यूनतम ९० देखि अधिकतम १२० रुपियाँ प्रति केजीसम्म पुगेको छ । यसैगरी सिमी न्यूनतम ६० देखि अधिकतम ९५ रुपियाँ, लोकल काँक्रो न्यूनतम ३० देखि अधिकतम ४५ रुपियाँ, र उन्नत काँक्रो न्यूनतम २५ देखि अधिकतम ३० रुपियाँमा कारोबार भएको बजार केन्द्रले जनएको हो ।

दैनिक भान्सामा प्रयोग हुने अन्य कृषि उत्पादनरूमा मुला न्यूनतम २५ देखि अधिकतम ३० रुपियाँ, अदुवा न्यूनतम १२० देखि अधिकतम १४० रुपिया प्रतिकेजी बिक्री भएको जनाइएको छ ।

सल्यानको कपुरकोट क्षेत्र नेपालभरि नै बेमौसमी तरकारी खेतीका लागि प्रख्यात छ । यहाँ असार साउनको समयमा उत्पादन हुने तरकारीले नेपालका विभिन्न प्रमुख सहरहरू जस्तै बुटवल, नेपालगन्ज, धनगढी, घोराही, तुलसीपुर, लमही, कैलाली, सुर्खेत लगायत अन्य सहर बजारसम्मको माग धान्ने गरेको कृषि उपज बजार सञ्चालक समिती कपुरकोटका अध्यक्ष तिलक शर्माले जानकारी दिए । तराईमा अत्यधिक गर्मी र वर्षाका कारण तरकारी उत्पादन नहुने यो मौसममा कपुरकोटको मध्य पहाडी हावापानीमा उत्पादित बेमौसमी तरकारीले बजारमा राम्रो मूल्य पाउने गर्दछ ।

यद्यपि कपुरकोटका किसानहरूले समय समयमा खडेरी र असिनापानी जस्ता प्राकृतिक प्रकोपको सामना गर्नुका साथै उत्पादित उपजको उचित बजारीकरण र बालीमा लाग्ने विभिन्न रोग किरा नियन्त्रण जस्ता चुनौतीहरू निरन्तर भोग्दै आइरहेका छन् । समयमै प्राविधिक सहयोग, उन्नत बीउबिजन र बजारको सुनिश्चितता हुन सके यहाँको तरकारी खेतीले अझ ठूलो व्यावसायिक रूप लिन सक्ने देखिन्छ ।

२०४७ सालदेखि व्यावसायिक तरकारी खेतीको अभ्यास सुरु भएको कपुरकोट क्षेत्रमा हाल करिब तीन हजार घरधुरी किसान प्रत्यक्ष रूपमा तरकारी उत्पादनमा संलग्न छन् । पछिल्ला वर्षहरूमा युवा तथा महिलाको सहभागिता पनि बढ्दै गएको छ । कपुरकोटसँगै जिल्लाका त्रिवेणी, छत्रेश्वरी, शारदा, सिद्धकुमाख लगायत स्थानीय तहमा समेत व्यावसायिक तरकारी खेती विस्तार हुँदै गएको छ ।

गत वर्ष मात्रै कपुरकोटबाट ३० करोड ५१ लाख २२ हजार ७२५ रुपियाँ बराबरको ताजा तरकारी तथा फलफूल बाहिरिएको थियो । गत वर्ष जेठ अन्तिम सातादेखि मंसिरसम्मको अवधिमा ७८ लाख ५९ हजार ९३६ किलो तरकारी तथा फलफूल बिक्री भएको बजार केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस