सल्यान, साउन १ । देशकै प्रमुख बेमौसमी तरकारी उत्पादन […]
सल्यान, साउन १- जिल्ला अदालत सल्यानमा २१६ मुद्दा फर्छ्योट हुन बाँकी रहेका छन् । यद्यपि आ.व. २०८२/०८३ मा लक्ष्य भन्दा बढी मुद्दा फर्छ्योट गरिएको अदालतले जनाएको छ । अदालतमा रहेका कुल ८१० मुद्दामध्ये ५९४ मुद्दा फर्छ्योट गर्दै अदालतले ७३.४२ प्रतिशत फर्छ्योट दर हासिल गरेको जनाएको हो । अदालतले आर्थिक वर्ष २०८२/०८३ का लागि ५०६ मुद्दा फर्छ्योट गर्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा ८८ मुद्दा बढी फर्छ्योट गर्न सफल भएको जनाएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला न्यायाधीश प्रल्हाद कुमार योगी र श्रेस्तेदार कमल कुमार आचार्यले संयुक्त रूपमा सार्वजनिक गरेको वार्षिक प्रगति विवरण अनुसार आर्थिक वर्ष २०८२/०८३ को सुरुवातमा १२९ मुद्दा जिम्मेवारी सरेका थिए । वर्षभर ६८१ नयाँ मुद्दा दर्ता भएपछि अदालतको कुल कार्यभार ८१० पुगेको थियो । तीमध्ये ५९४ मुद्दा फर्छ्योट गरिएको छ भने २१६ मुद्दा आगामी आर्थिक वर्षका लागि जिम्मेवारी सरेका छन् ।
वार्षिक प्रगति विवरण अनुसार बाँकी रहेका २१६ मुद्दामध्ये एक वर्ष नाघेको एउटा मात्रै मुद्दा रहेको छ । १८ महिना नाघेका तथा दुई वर्ष नाघेका कुनै पनि मुद्दा नरहेको अदालतले जनाएको छ । यसले पुराना मुद्दा घटाउँदै समयमै न्याय सम्पादन गर्ने प्रयास प्रभावकारी बन्दै गएको संकेत गरेको छ ।
अदालतले लागू गरेको फरक मुद्दा व्यवस्थापन पद्धति अन्तर्गत मुद्दालाई सरल, सामान्य र विशेष गरी तीन समूहमा वर्गीकरण गरी सुनुवाइ गर्दै आएको छ । तीमध्ये सरल प्रकृतिका मुद्दाको फर्छ्योट दर सबैभन्दा उच्च रहेको अदालतले जनाएको छ । आर्थिक वर्षभर मुद्दाको मार्ग समूह परिवर्तन भने कुनै पनि गरिएको छैन ।
पत्रकार सम्मेलनमा न्यायाधीश योगीले न्याय सम्पादनलाई थप प्रभावकारी, छिटोछरितो र सेवाग्राहीमैत्री बनाउने दिशामा अदालत प्रतिबद्ध रहेको बताउनुभयो । श्रेस्तेदार आचार्यले आगामी आर्थिक वर्षमा पनि फर्छ्योट दर बढाउँदै पुराना मुद्दा न्यूनतम बनाउने लक्ष्यका साथ अदालतले काम गर्ने जानकारी दिनुभयो ।
