राप्ती साहित्य परिषद् केन्द्र, घोराहीले यस वर्षको प्रतिष्ठित ‘चन्द्रमधु गीत […]
सल्यानको बागचौर नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरू अबदेखि आइतबार पनि सञ्चालन हुने भएका छन्।
बागचौर नगरपालिकाको नगर कार्यपालिकाको बैठकले अभिभावकहरूको व्यापक जनगुनासोलाई सम्बोधन गर्दै यस्तो निर्णय गरेको हो। जेठ ४ गते बसेको कार्यपालिका बैठकको निर्णयानुसार उक्त व्यवस्था लागु गर्न नगरपालिकाले सूचना जारी गरेको छ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायतद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “आम अभिभावकहरूको जनगुनासोलाई सम्बोधन गर्न यस नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू आइतबार समेत सञ्चालन गर्ने निर्णय भएकोले सोही अनुसार सबै विद्यालयहरू सञ्चालन गर्न हुन अनुरोध छ।”
यसअघि हप्तामा दुई दिन बिदा दिने वा अन्य व्यवस्थाका कारण पठनपाठनमा असर परेको भन्दै अभिभावकहरूले गुनासो गरेपछि नगरपालिकाले यो कदम चालेको बुझिएको छ। नगरपालिकाले उक्त निर्णयको जानकारी तथा कार्यान्वयनका लागि शिक्षा विकास तथा समन्वय इकाई, सल्यानलाई समेत बोधार्थ पठाएको छ।
