काफल बेच्ने महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरी लाई कारबाही गर्ने , पीडितलाई १० हजार क्षतिपूर्ति

सल्यान ६ जेठ २०८३

वीरेन्द्रनगर सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिकाका नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी काफल व्यवसायी धमिला चौलागाईलाई नगरपालिकाले राहत तथा क्षतिपूर्ति उपलब्ध गराएको छ। नगरप्रमुख मोहनमाया ढकाल ले बुधबार आफ्नै कार्यकक्षमा बोलाएर चौलागाईलाई १० हजार रुपैयाँ राहत तथा प्रोत्साहनस्वरूप हस्तान्तरण गरेकी हुन्।

Oplus_16908288

मङ्गलबार साँझ वीरेन्द्रनगर–६ स्थित सिटी बसपार्क क्षेत्रमा फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगर प्रहरीले डोकामा काफल बेच्दै हिँडेकी चौलागाईको काफलको डालो जबरजस्ती घोप्ट्याइदिएका थिए। घटनापछि सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएसँगै नगरपालिकाको चौतर्फी आलोचना भएको थियो।

घटनाप्रति जनस्तरबाट व्यापक विरोध भएपछि नगरपालिकाले बुधबार विज्ञप्ति जारी गर्दै महिलामाथि दुर्व्यवहारमा संलग्न नगर प्रहरीलाई कारबाही गर्ने र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको जनाएको थियो।

चौलागाईको करिब ७–८ सय रुपैयाँ बराबरको काफल नोक्सान भएको भए पनि उनलाई पुगेको मानसिक पीडा र आर्थिक असरलाई ध्यानमा राख्दै नगरप्रमुख ढकालले १० हजार रुपैयाँ सहयोग उपलब्ध गराएकी हुन्।

यससँगै बुधबार उनले बिक्रीका लागि ल्याएका सबै काफल नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले खरिद गरिदिएका थिए। नगरपालिकाको उक्त कदमलाई घटनापछि उत्पन्न असन्तोष कम गर्ने प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस